अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

हुरी बतास पीडितलाई अभिनेता प्रदीप र निर्माता गोविन्दको सहयोग

बिआरटीनेपाल २०७५ चैत २० गते २३:२१ मा प्रकाशित

काठमाडौँ, आइतबार राती हुरी बतासका कारण बारा र पर्सा जिल्लामा भएको घटना एवम् क्षति प्रति अभिनेता प्रदीप खड्का र चलचित्र लभ स्टेसन टिमले दुःख व्यक्त गरेका छन् । पछिल्लो विवरण अनुसार सो प्रकोपबाट बारमा २७ र पर्सामा ६ सहित ३३ जनाको निधन, ४ सय जना भन्दा बढी घाइते, हजारौँ घर बेघर र करोडौँको क्षति भएको छ ।  

हुरी बतासबाट भएको क्षति पछि उद्धार, उपचार, राहत र सहयोगमा आफूहरूको साथ रहने बताउँदै अभिनेता खड्काले यो अप्ठेरो घडीमा सहयोगको लागि सबैलाई अपिल गरेका छन् ।

सो घटनापछि राहतको लागि अपिल गर्दै सोमबार काठमाडौँमा पत्रकार भेटघाट गर्दै लभ स्टेसन टिमले सहयोगको घोषणा गरेको छ । आफू र चलचित्र लभ स्टेसनका प्रस्तुतकर्ता गोविन्द शाहीको तर्फबाट बारा जिल्लाका हावा हुरी पीडितहरूका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला बिपद व्यवस्थापन कोष बारा मार्फत सो रकम पीडितहरूका लागि सहयोग गरिने अभिनेता प्रदीपले बताए । जिल्ला प्रशासन प्रमुख पौडेलसँग सम्पर्क गरी पीडिताहरुलाई राहत तथा अन्य सहयोगका लागि अभिनेता प्रदीपले अपिल गरेका छन् ।

हावा हुरीबाट दिवङ्गत भएकाहरू प्रति श्रद्धा सुमन र घाइतेप्रति स्वास्थ्यलाभको कामना गर्दै अभिनेता प्रदीप र निर्माता गोविन्द शाहीले उनीहरूलाई सहयोगका लागि आफूहरूले निरन्तर पहल गर्ने पनि बताएका छन् ।

उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको चलचित्र लभ स्टेसन २२ चैतबाट देशव्यापी सिनेमा हुँदैछ । यो चलचित्रमा अभिनेता प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु विष्ट, रवि डङ्गोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ । लभ स्टेसनलाई काफिया फिल्मस्को ब्यानरमा काफिया शाही (क्रिसु) र कविरबीक्रम शाहीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया