अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गरिने

बिआरटीनेपाल २०७५ चैत १२ गते १०:०७ मा प्रकाशित

काठमाडौँ, ताप्लेजुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा प्रतिष्ठान स्थापना गरिने भएको छ ।

आगामी वैशाख २२ गते उहाँको जन्मदिनमा औपचारिक घोषणा गर्ने गरी ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना गर्न लागिएको पत्नी विद्या भट्टराईले जानकारी दिनुभयो । “प्रतिष्ठानको स्वरूप र संरचनाको विषय अहिले छलफल कै चरणमा छ, तयारी समिति निर्माण गरेर काम अगाडि बढाइएको छ,” मन्त्री अधिकारीको स्मृतिमा आज प्रज्ञा प्रतिष्ठानमा आयोजित श्रद्धाञ्जलिसभाका क्रममा उहाँले भन्नुभयो ।

उहाँका अनुसार प्रतिष्ठान निर्माण गर्न प्रा डा भरतप्रसाद पहारीको संयोजकत्वमा नौ सदस्यीय तयारी समिति बनाइएको छ । समितिमा राजनीतिक प्रतिनिधि, परिवारका सदस्य, शुभेच्छुक र मन्त्री अधिकारीका साथी आबद्ध हुनुहुन्छ । उहाँले भन्नुभयो, “म धेरै भन्न सक्ने अवस्थामा त छैन, समृद्धिबाट परिवर्तन भन्ने उहाँको जुन मान्यता थियो, त्यसलाई आगामी दिनमा अगाडि लिएर जान सक्यौँ भने उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सफल बनाउन र उहाँको कृतिलाई संस्थागत गरी अमरत्व प्रदान गर्न नेपाल प्रज्ञा प्रतिष्ठानले हरतरहबाट सहयोग गर्ने बताउनुभयो । “नयाँ रवीन्द्र अधिकारीको रूपमा विद्या भट्टराईलाई देख्ने छौँ, उहाँको छाँया पर्ने विश्वास छ,” कुलपति उप्रेतीले भन्नुभयो । अधिकारीसहित भाषाशास्त्री बालकृष्ण पोखरेल र मदनकुमार दाहालको सम्मानमा बुधवार एक दिन प्रतिष्ठान बन्द गर्ने निर्णय गरेकोसमेत उहाँले जानकारी दिनुभयो ।

तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका अधिकारीका ‘समृद्ध नेपाल’ र ‘लोकतन्त्र संविधानसभा र राज्य पुनःसंरचना’ गरी दुईवटा पुस्तक प्रकाशित छन् । प्रतिलिपि अधिकार संरक्षणको कानुनका सूत्रधार अधिकारीले तीन वटा प्रतिष्ठानलाई मर्ज गर्ने विषय उठ्दा अधिकारी त्यसको विपक्षमा उभिनुभएको प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बुले जानकारी दिनुभयो ।

मन्त्री अधिकारी कै सिफारिसमा नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला र सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पदाधिकारीको नियुक्ति भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्ययले शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो । उहाँले भाषा, साहित्य, कला, संस्कृति र दर्शनका कुशल संरक्षण गुमाएको बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले पर्यटन र संस्कृतिको फाँटमा नयाँ योजना र उत्साहका साथ अगाडि बढ्दै गर्दा उहाँको निधनले स्तब्ध बनाएको भन्दै राष्ट्र कै सच्चा विकासप्रेमी नेता गुमाएको उल्लेख गर्नुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले सधैँ उत्प्रेरणा दिएर प्रेरित गर्ने असल संरक्षक मन्त्री अधिकारी काम गरेर देखाउनुपर्छ भनेर सधैँ चिन्ता गरिरहने व्यक्तिको निधनले स्तब्ध भएको स्मरण गर्दै शोकलाई शक्तिमा बदलेर अगाडि बढ्न परिवारका सदस्यहरूलाई आग्रह गर्नुभयो । साहित्यकारहरूले अधिकारीलाई अरूको बाटोमा हिँड्नेभन्दा आफैँ बाटो बनाएर हिँड्ने नेताको रूपमा सम्झिनुभयो ।

गत फागुन १५ गते तेह्रथुमको चुहानडाँडा विमानस्थलका लागि स्थलगत अध्ययन गरेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा ताप्लेलुङको तारेभिरमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो । – दैनिक नेपाल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू