अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

कोलोराडोमा फागु पूर्णिमा अर्थात होली सम्पन्न

बिआरटीनेपाल २०७५ चैत ११ गते २२:०४ मा प्रकाशित

एकापसमा रङ्ग र अबिर दलेर होली पर्व उत्साहका साथ मनाउने गरिन्छ । नेपालीहरूको महत्त्वपूर्ण चाड फागु पूर्णिमा (होली) कोलोराडोवासी नेपालीहरूले यस वर्ष पनि गत शनिवार ब्राइटनस्थित सनातन मन्दिरमा धूमधामसँग मनाए । नेपाली घरद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न उमेर समूहका महिला तथा पुरुषको ठुलो सहभागिता रहेको थियो । 

नेपाली घरका कोषाध्यक्ष जगदीश ढकालले कार्यक्रम आयोजना गर्नुको उद्देश्य प्रकाश पार्दै सबैलाई स्वागत गरेका थिए भने कार्यक्रममा समीर आचार्यले फागु सम्बन्धी मुक्तक सुनाएका थिए । रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका महासचिव टिका पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण मुरारी ढुङ्गेल, ग्लोबल भुटनिज कम्युनिटी अफ कोलोराडोका सोम बराल र एनआरएन कोलोराडो च्याप्टरका प्रतिनिधि रुपेश बरालले होलीको शुभकामना दिएका थिए । 

ब्राइटन मन्दिरका पण्डित प्रेमप्रसाद पौडेलबाट होली सम्बन्धी विशेष पूजा गर्दे उपस्थित सबैलाई टिका लगाई कार्यक्रमको सुरुआत गरेका थिए । बिहान १२ बजे देखी सुरु भएको कार्यक्रम दिउसो २ बजेसम्म सञ्चालन भएको थियो । उपस्थित सबैले एक अर्कामा रङ्ग दल्दै एकआपसमा शुभकामना आदान प्रदान गरेका थिए । होली खेल्नेहरूमा कोलोराडो बासी आम नेपालीहरूका अतिरिक्त विभिन्न सामाजिक संस्थाका पदाधिकारी, कलाकार र सञ्चारकर्मी थिए । अन्त्यमा कार्यक्रमको आयोजक ‘नेपाली घर’ले उपस्थित हुने सबैको लागि भोजन-प्रसादको व्यवस्था गरेको थियो । 

फोटो साभार: समीर आचार्य, शशि अधिकारी, टिका पौडेल, सोम बराल तथा अन्यको फेसबुक

प्रतिक्रिया