अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

बुटवलको सङ्गीत यात्रामा कन्दरा गुन्जिए

बिआरटीनेपाल २०७५ चैत ११ गते १८:४१ मा प्रकाशित

बुटवल, “बिदेसीएर गइन उनी मलाइ छोडेर तर मैले नसम्झेर” भन्दै शनिवार साँझ करिब आठ बजे बुटवलस्थित बुटवल मण्डपको नेपाल आइस प्रादेशिक सङ्गीत यात्राको स्टेजमा देखा परे गायक विवेक श्रेष्ठ आफ्नो ब्यान्ड कन्दराका सहकर्मीहरूसँग ।

करिब २२ वर्ष अघि बुटवलमा कन्सर्ट गर्न आयको सम्झँदै गायक विवेकले यतिको वर्षपछि फेरि आएको छु ,बुटवलवासीको साथ पाउने आशामा छु भन्दै उनले लगालग तिमी पारि त्यो गाउँमा, डाँडापारिको, चञ्चले कान्छीको जोबन, भेडी गोठैमा, चन्द्रकोट कि नानी, कता हिँडेकी कुन ठाउँमा, हंगकंगको बजार डुली, तगारोमा रुमाल, लेककी हे माया र हंगकंग पोखरा लगायतका आफ्ना चिरपरिचित गीतहरू सँगै गायक तथा सङ्गीतकार राम थापालाई समर्पित गर्दै उनको गीत लेकाली हे चोयाको डोको गरी १४ वटा गीतहरू डेढ घण्टाको अवधिमा सकाए ।

२२ वर्ष अघिको हिट गीत लेककी हे माया २२ वर्षपछि पनि उत्तिकै मन पराइरहेको उपस्थित दर्शकहरूको कन्दरा ब्याण्डका गीतहरूको तालमा झुमिरहेको बाट स्पष्ट हुन्थ्यो । २५ वर्ष अघिबाट पोखराबाट सुरुवात भएको बिषेशत लोक-पप तथा मेलोडी गीतहरू गाउने कन्दरा ब्याण्डका प्रत्येक गीतहरूमा बुटवलका दर्शकहरू उनीसँगै गाउँदै रमाइरहेको देखिन्थ्यो ।

बुटवल उप- महानगर पालिकाका उप -मेयर श्रीमती गोमा आचार्यले स्टेजको रिबन काटेर उद्घाटन गर्नु भएको नेपाल आइस प्रादेशिक सङ्गीत यात्राको सुरुवातमा बुटवलकै स्थानीय अमेध ब्यान्ड र नेपाल आइडलमा टप ५ मा पर्न सफल बुटवलकै प्रतिभा अमित बरालले आफ्नो प्रस्तुति दिएका थिए । सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको कार्यक्रम स्थानीय बुटवल युवा परिवारको संयोजनमा भएको थियो । कार्यक्रमबाट उठेको रकमबाट राजमार्गमा वृक्षारोपण सँगै पुराना खेलाडीहरूलाई सकेको आर्थिक सहयोग गर्ने बुटवल युवा परिवारका भक्त थापाले बताए ।

नेपालको संविधानले गठन गरेको सात वटा प्रदेशको मुख्य ७ वटा सहरहरूमा सङ्गीतको माध्यमबाट मनोरञ्जन दिने अभिप्रायले नेपाल आइसको प्रयोजनमा र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा नेपाल आइस प्रादेशिक सङ्गीत यात्रा कार्यक्रम आयोजना गरिएको हो र यो कार्यक्रमको सुरुवात प्रदेश न. ५ को प्रमुख सहर बुटवलबाट सुरु गरिएको र अब छिट्टै बाँकी ६ प्रदेशमा पनि कार्यक्रमको आयोजना गरिने सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू