अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५७ | Colorodo: 00:12

गेसोद्वारा ३ महिने आन्दोलनको कार्यक्रम घोषणा

बिआरटीनेपाल २०७५ चैत ११ गते १७:३६ मा प्रकाशित

गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)ले पेन्सन लगायतका सेवा, सुविधा समान रूपमा उपलब्ध गराउन माग गर्दै बेलायत सरकार विरुद्ध ३ महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उसले कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गर्दै ३ महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

गेसोले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बेलायत सरकारले पेन्सनलगायतका सेवा, सुविधामा गरेको विभेद अन्त्यका लागि तत्काल वार्ता समिति गठन गरी बेलायत सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारसँग माग गर्दै थप ३ महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । बेलायती सेना सरह गोरखा भूतपूर्व सैनिकहरूलाई पनि पेन्सनलगायतका सेवा सुविधा तत्काल उपलब्ध गराउन कूटनीतिक पहल गर्न माग गर्दै थप ३ महिने आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको गेसोका अध्यक्ष कृष्णकुमार राईले जानकारी दिनुभयो ।

आन्दोलनको कार्यक्रम अनुसार गेसोले आफ्ना माग सम्बोधन गराउन नेपाल सरकार र बेलायत सरकारका प्रधानमन्त्रीलगायतका सम्बन्धित मन्त्रीहरूलाई ज्ञापन पत्र बुझाउनेछ । त्यसै गरी, बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आफूहरूको मागलाई सम्बोधन गर्न बाध्य हुने गरी विशाल प्रदर्शन गर्ने निर्णय पनि गरिएको गेसोका अध्यक्ष राईले बताउनुभयो ।

बेलायत सरकारले बेलायती सेना सरह पेन्सनलगायतको सेवा सुविधा नदिएपछि गोर्खा भूतपूर्व सैनिकहरू त्यसविरूद्ध आन्दोलनमा होमिएका हुन् । उनीहरूले बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरूलाई बेलायती सेना सरह पेन्सनलगायतका सेवा, सुविधा उपलब्ध नगराए अझै कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू