अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

संशय

डा. दुर्गा दाहाल, “अनुभव” २०७५ चैत १० गते १३:५१ मा प्रकाशित

लघुकथा ( सत्य घटनामा आधारित ) 

औँसीको कालिमामय रात । घोर अन्धकार । समय क़रीब रात्रिको ९ बजेको हुनु पर्छ । बाहिर बाक्लो वृष्टि र बतास । एस.एल. सी का विद्यार्थीहरू पढ्नमा मग्न । एउटा सानो कोठाको एकमान्छेको बेडमा एक जना सज्जन व्यक्ति थकित भएको अवस्थामा तन्द्राग्रस्त । बिस्तारै गहिरो निन्द्रामा मस्त र व्यस्त हुन्छन् ।

अनायास एउटी अधबैँसे महिलाको त्यसै कोठामा अप्रत्याशित रूपमा प्रवेश । सामान्य वार्तालाप । सज्जन पुरुष निंद्रामग्न । महिला पनि तन्द्रामा । त्यपछि के भयो ती पुरुषलाई थाहा भएन ।

बिहानीमै पुरुष ब्युँझिए पश्चात् आश्चर्यचकित र अवाक् हुन्छन् । । महिलाको सहजतापूर्क कोठाबाट प्रस्थान । अर्को कोठामा भएका शिक्षकहरू, छात्रावास प्रमुख र अन्य विद्यार्थी हरूसँग भेटघाट र बिहानीको अभिवादन आदान- प्रदान । महिला आफ्नै निवास स्थान तर्फ लागिन ।सम्पूर्ण परिवेश र परिस्थिति सामान्य ।

दुई दिन पछि शङ्का र उपशङ्काको बीज अंकुरण भयो । सामान्य हल्ला । संभवत सम्भोग भएको हुनुपर्छ ती दुई पात्रहरूको बिचमा भन्ने कुराले कतिपय शङ्कालु प्रवृत्ति भएका अपरिपक्व मानिसहरू ज्वरा क्रान्त र शङ्काको खेतीमा तल्लीन । ती पुरुषका आफन्तहरूमा समाचारको सम्प्रेषण हुन्छ । पुरुषकी पत्नी र आफन्तहरू तनावग्रस्त हुन्छन् । कञ्चन पुरुष शङ्काको घेरामा पर्छन् । धमिलो पानीमा माछा मार्नेहरूका लागि सुवर्ण अवसर र मनोरञ्जनको विषय बन्छ । बिस्तारै विषय सेलाउँछ ।

के भयो होला कोठामा ? दोष कसको ? को हुन ती महिला र किन आइन त्यसै कोठामा ।
अनुसन्धान ज़रूरी थियो ?