अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

बममाथि सुतेर वार्ताको कल्पना गर्न सकिँदैन– संचारमन्त्री बास्कोटा

बिआरटीनेपाल २०७५ चैत १० गते ११:४४ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले हतियार बिसाएर आए मात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले वार्ता गर्ने दोहोर्याउनुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बास्कोटाले बमसँगै राखेर चन्द नेतृत्वको नेकपासँग वार्ताको कल्पना गर्न नसकिने बताउनुभयो ।

नेपाल प्रेस इन्स्टिच्युटले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री बास्कोटाले बम, बारुद बोकेर आतङ्क फैलाइरहेको चन्द नेतृत्वको नेकपाको पक्षमा समाचार सम्प्रेषण गरिएको भन्दै त्यस्ता सञ्चार माध्यमहरूप्रति पनि आक्रोश व्यक्त गर्नुभयो । मन्त्री बास्कोटाले राष्ट्रिय हितमा केन्द्रित भएर मर्यादित पत्रकारिता गर्न पनि सबै सञ्चार माध्यमलाई सचेत गराउनुभएको छ ।

मन्त्री बास्कोटाले सञ्चार माध्यमहरूले स्वतन्त्रताको उपयोग गर्ने नाममा अराजकता फैलाउने गतिविधिलाई प्राथमिकता दिन नहुने बताउनुभयो । सरकारले सामाजिक सञ्जाल सञ्चालकलाई करको दायरामा ल्याउन खोज्दा सर्वसाधारणका फेसबुक ट्विटर बन्द गर्न खोज्यो भनेर हल्ला पिटाइएको गुनासो गर्दै एक पटक दर्ता गरेपछि निरन्तर नभए पनि त्यो पत्रिका रहिरहने स्थितिमा समीक्षा गर्न आग्रह गर्नुभयो ।

सञ्चारमाध्यम अहिले कम्पनी रहेको र भोलि उद्योगमा जाने भएकाले उद्योगकै मान्यताबाट अघि बढ्नुपर्ने बताउँदै उहाँले उद्योगमा गएपछि मजदुरलाई ज्याला नदिए कारबाही हुने उहाँले चेतावनी दिनुभयो । बास्कोटाले मर्यादाको उल्लङ्घन गरेर वा देशलाई सरापेर गरिने पत्रकारिता समाज निर्माणको मियो बन्न नसक्ने र त्यो भाँडतन्त्रको दृष्टान्त हुने जनाउँदै स्वतन्त्रताको सीमा नभए पनि मर्यादाको सीमा हुने भएकाले समाजको जीवन्तताको पेसा पत्रकारिताको स्वतन्त्रतामा अराजकता हाबी हुन नदिन आग्रह गर्नुभएको छ ।

सरकार श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न, पत्रकारहरूलाई सुविधा दिन र सञ्चार क्षेत्रमा सुधारका नयाँ कानुन ल्याउन लागिपरेको सञ्चार मन्त्री बास्कोटाको भनाई थियो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले आतङ्ककारी काममा पत्रकार संलग्न भएको पाइएमा सप्रमाण सञ्चारमाध्यमको परिसरबाट नभई बाहिरबाट नियन्त्रणमा लिन सुझाव दिनुभयो । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले मानिसको जीवनपद्धति सञ्चारमाध्यमको स्वतन्त्रता र मर्यादालाई सन्तुलित दृष्टिकोणबाट अघि बढाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू