अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

एसइई परीक्षा सुरु, परीक्षामा नेतृ, अभिनेत्रीदेखि किरियापुत्रीसम्म को सहभागिता

बिआरटीनेपाल २०७५ चैत १० गते ११:१६ मा प्रकाशित

य स वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आइतबारबाट देशैभरि सुरु भएको छ । एसईईमा मुलुकभर ४ लाख ७५ हजार परीक्षार्थीले सहभागिता जनाएका छन् । एसईईका परीक्षार्थीले आइतबार अङ्ग्रेजी विषयको परीक्षा दिएका छन् । यस वर्षको एसईईमा शारीरिक रूपमा दुर्बल रहेका देखि नेता र सेलिब्रेटीसहित विभिन्न उमेर समूहका परीक्षार्थी सहभागी भएका छन् ।

प्रतिनिधिसभा सदस्य तथा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरीले पनि यसपालि एसईई परीक्षा दिनुभएको छ । पूर्वकम्लरी शान्ताले आफ्नी १७ वर्षीया छोरी बिनु चौधरीसँगै एसईई परीक्षा दिनुभएको हो । शान्ताले तुलसीपुर उपमहानगर–६ स्थित तुलसीपुर माध्यमिक विद्यालयमा रहेको एसईई परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको परीक्षा दिनुभएको हो ।

चर्चित अभिनेत्री करिश्मा मानन्धरले पनि यस पटक एसईई दिनुभएको छ । मानन्धरले काठमाडौँ डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयको केन्द्रबाट परीक्षामा सहभागी हुनुभएको हो । बैतडीको दशरथ चन्द नगरपालिका– २ देहीमाडौंकी करिश्मा बोहराले अङ्ग्रेजी विषयको परीक्षा घरबाटै दिनुभएको छ । बोहरा शारीरिक रूपमा अशक्त हुनुहुन्छ । बोहराजस्तै अर्की दृष्टिविहीन परीक्षार्थी दीपा बोहराले पनि सहयोगीमार्फत आफ्नो क्षमतालाई उत्तर पुस्तिकामा उतार्नुभएको छ ।

यसवर्षको एसईईमा ५८ वर्षीय मुसहर माझी पनि परीक्षार्थीको रूपमा सहभागी हुनुभएको छ । रौतहट चन्द्रपुर नगरपालिका १० बडहर्वा टोल निवासी माझी मुसहरले चैत्र आइतबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिनुभएको हो ।

आजबाट सुरु भएको एसिईई परीक्षामा पोखराबाट ६ जना दृष्टिविहीनले सहभागिता जनाएका छन् । पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयबाट उनीहरूले परीक्षामा सहभागिता जनाएका हुन् । उनीहरूले सहयोगीको मद्दतले परीक्षा दिएका हुन् । दृष्टि विहीनले कक्षा ९ मा अध्ययन गर्दै गरेका विद्यार्थीलाई सहयोगीका रूपमा राख्न सक्दछन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू