अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१५ | Colorodo: 17:30

समृद्ध मुलुक बनाउन राष्ट्रिय सहमतिका साथ अघि बढौं – बाबुराम भट्टराई

बिआरटीनेपाल २०७५ चैत १० गते ९:५७ मा प्रकाशित

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले वस्तु तथा सेवाको उत्पादनमा जोड दिएर आवश्यक योजना बनाउन पनि सरकारलाई सुझाव दिनुभयो ।

आईतबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उहाँले तत्कालका निम्ति राष्ट्रिय औद्योगिक पूँजीमा जोड दिएर मात्रै समाजवादी उन्मुख अर्थतन्त्र निर्माण हुने भएकाले सोही अनुसारको योजना बनाउन पनि सरकारलाई सचेत गराउनुभयो । संयोजक भट्टराईले राष्ट्रिय पूँजी निर्माणका लागि सरकार र निजी क्षेत्रले मिलेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभएको छ । उत्पादन र उत्पादकत्व बढाएर मात्रै राष्ट्रिय पूँजीको निर्माण गर्न सकिने संयोजक भट्टराईको भनाई थियो । संयोजक भट्टराईले राष्ट्रिय पूँजीको विकास गरेर मात्रै सामाजिक सुरक्षाको दायरालाई बढाउन सकिनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले पाँच बर्षभित्र मुलुकमा दोहोरो अंकको आर्थिक वृद्धि हुने दीर्घकालीन सोच सहितको १५ औं योजनाको खाका प्रस्तुत गर्नुभएको थियो । खाकाका एक वर्ष भित्र करिव १ हजार मेघावाट जलविद्युत उत्पादन गर्ने उल्लेख गरिएको छ । तामाकोसी जलविद्युत आयोजनालगायतको आयोजना सम्पन्न हुने भएकाले एक बर्षभित्र करिव १ हजार मेघावाट थप विद्युत उत्पादन गर्ने योजना तय गरिएको पनि राष्ट्रिय योजना आयोगका सहसचिव खोमराज कोइरालाले जानकारी दिनुभयो । आयोगले तयार पारेको १५ औं योजनाको मस्यौंदामा मुलुकलाई समृद्ध बनाउन वैदेशिक लगानी भित्र्याउन जोड दिने पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू