अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

तनहुँको सिद्धिडाँडामा प्याराग्लाइडिङको सम्भाव्यता परीक्षण

बिआरटीनेपाल २०७५ चैत ९ गते १०:०४ मा प्रकाशित

तनहुँ जिल्लाको व्यास–११ सिद्धिडाँडामा पर्यटन प्रवर्द्धन गर्न व्यावसायीक प्याराग्लाइडिडको सम्भाव्यता परीक्षण गरिएको छ । शनिबार सम्भाव्यता परीक्षणका लागि गरिएको प्याराग्लाइडिङ उडान सफल भएको छ । सिद्धिडाँडाबाट ३ जना पाइलटद्वारा ५ रेण्डम फलाइट टेकअफ गरी फराकचौरमा ल्याण्ड गरिएको व्यास नगरपालिकाले जनाएको छ ।

वडाअध्यक्ष नीरबहादुर खड्काले पहिलो फ्लाइटमा उडान भरेर उद्घाटन गर्नुभएको थियो । वडाध्यक्ष खड्काले पर्यटकीय क्षेत्रमा पर्यटन प्रवर्द्धनमा वडाले पुलको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । प्याराग्लाइडिङ परीक्षणको क्रममा नगर प्रमुख वैकुण्ठ न्यौपानेले पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखराको प्याराग्लाइडिङ स्थानान्तरण हुने भएकाले व्यास नगरपालिकामा सम्भावना खोजिएको बताउनुभयो । वडा नं ३ का सदस्य रवीन पौडेलले व्यास नगरपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेकाले त्यस्को सुरुवातस्वरूप प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरिएको बताउनुभयो ।

नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति दिएको खण्डमा नीजि कम्पनीले व्यावसायीक उडान भर्न तयार रहेको पौडेलले जानकारी दिनुभयो । उडानपछि परीक्षण सफल भएको बताउँदै पाइलट तथा विज्ञ शंकर पराजुलीले उक्त स्थानमा हावाको चाप र अन्य भौगोलिक तवरले प्याराग्लाइडिङका लागि उपयुक्त भएको बताउनुभयो । उडानको व्यवस्था टिम फाइभ प्याराग्लाइडिङ नेपालले पोखराले गरेको थियो । जिल्लामा प्याराग्लाइडिङको विकास गर्न सके आयस्तर वृद्धि हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया