अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५६ | Colorodo: 07:11

नेपाल र टोगो बीच कुटनीतिक सम्बन्ध स्थापना

बिआरटीनेपाल २०७५ चैत ९ गते ९:५८ मा प्रकाशित

नेपाल र पश्चिम अफ्रिकी देश टोगोबीच कुटनीतिक सम्बन्ध स्थापित भएको छ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघीय नियोगका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र राष्ट्र संघीय नियोगका लागि टोगोका स्थायी प्रतिनिधि कोकोयु क्यापेउदोले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षरकर्ता दुबैले यो कुटनीतिक सम्बन्धले दुई देश र त्यहाँका जनतालाई एकअर्काको नजिक ल्याउने बताउनुभयो । उहाँहरुले संयुक्त राष्ट्र संघका महासचिवलाई एन्टिनियो गटरसलाई कुटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी दिइसक्नुभएको छ ।

दुबै देश कम विकसीत देशहरूको समूह “ग्रुप अफ ७७” र असंलग्न आन्दोलनका सदस्य छन् । १९६० मा राष्ट्र संघको सदस्यता लिएको टोगोको जनसंख्या करिब ८० लाख छ । टोगोको सीमानामा राष्ट्र संघका पूर्व महासचिव कोफी अन्नानको देश घाना, बेनीन र बुर्किना फासोसँग जोडिएको छ । टोगो सहित नेपालले कुटनीतिक सम्बन्ध स्थापना गरेको देशको संख्या १६४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू