अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

सिरियामा ‘आइएस पराजित’ भएको “एसडीएफ” को दावी

बिआरटीनेपाल २०७५ चैत ९ गते ९:३८ मा प्रकाशित

अमेरिकी समर्थनको सिरियन डेमोक्रेटिक फोर्स ‘एसडीएफ’ले सिरियामा इस्लामिक अतिवादी समूह ‘आइएस’ पराजित भएको दाबी गरेको छ । आइएसले आफ्नो अन्तिम पकड क्षेत्र पूर्वी बाघुज गाउँसमेत गुमाएपछि एसडीएफले यस्तो दाबी गरेको हो ।

कुर्दिस नेतृत्वको एसडीएफका प्रवक्ताले सिरियाको शतप्रतिशत भू–भागमा आइएस पराजित भएको जनाएका छन् । एसडीएफको फौजले बाघुजमा विजयको झन्डा फहराएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

तर, आइएसका प्रवक्ताले भने अडियो सन्देश जारी गर्दै संघर्ष समाप्त नभएको जनाएका छन् । सिरियाको भू–भाग गुमाएपनि आइएस अझै ठूलो सुरक्षा चुनौती रहेको विश्लेषण गरिएको छ । इराकी सरकारले सन् २०१७ मै आइएस पराजित भएको घोषणा गरेको थियो ।

कुनै समय सिरिया र इराकको ८८ हजार किलोमिटर क्षेत्र ‘जिहादी’ समूह आइएसको नियन्त्रणमा थियो । इराकमा सन् २००३ मा अमेरिकी सेनाको हस्तक्षेपपछि आइएस सक्रिय जिहादी समूहकारुपमा देखापर्न थालेको थियो । सन् २०११ मा सिरियाली राष्ट्रपति बशार अल असादको शासनविरुद्ध पनि यो समूह सक्रिय बनेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू