अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०० | Colorodo: 03:15

शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि

बिआरटीनेपाल २०७५ चैत ८ गते १०:०९ मा प्रकाशित

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना हुने भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाको पहलमा निकुञ्जसँगको सहकार्यमा चैत १५ देखि २१ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो ।

निकुञ्जमा पर्यटक बढाउनका लागि पर्यटन महोत्सव आयोजना हुन लागेको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । शुक्लाफाँटा जैविक विविधताले भरिपूर्ण रहेको चर्चा गर्दै उहाँले जैविक विविधताले भरिपूर्ण निकुञ्ज खुला विश्वविद्यालयजस्तो भएको बताउनुभयो । नगरप्रमुख विष्टले निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि शुक्लाफाँटा पर्यटनमार्ग निर्माण, झोलुङ्गे पुल नजिक उद्यान र पार्क निर्माण, राना थारू होम प्रवद्र्धनका लागि सहयोग गरिएको जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिकामा झोलुङ्गे पुल आउने पर्यटकलाई बाल उद्यान र वनभोजस्थल भएर हात्तीसार हुँदै राना थारू घरबास (होमस्टे) पुर्याउने लक्ष्यसहित पुल नजिक बाल उद्यान र पार्क बनाउन बजेट विनियोजन गरिएको छ । भीमदत्तले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन २०१९ लाई प्रचार र पूर्वाधार वर्ष घोषणा गरेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएका भीमदत्त नगरपालिका, माहाकाली नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र बेल्डाँडी गाउँपालिकासहित सरोकारवालाले संयुक्तरूपमा महोत्सव आयोजना गर्न लागेका हुन् । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाह्रसिङ्गेको झुण्ड सबैभन्दा आकर्षक मान्ने गरिएको छ । निकुञ्जमा जम्मा दुई हजार ३४० बाह्रसिङ्गे छन । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गर्नका लागि मूल तयारी समिति गठन गरिएको छ ।

प्रतिक्रिया