अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

एसईई परीक्षा आइतबारबाट, सम्पूर्ण तयारी पूरा

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:५४ मा प्रकाशित

आइतबारदेखि सञ्चालन हुने यस वर्षको विद्यालयस्तरीय एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा सञ्चालन परीक्षा नियन्त्रण कार्यलयले गरे पनि आवश्यक खर्च, अनुगमन र जनशक्तिको व्यवस्थापन भने यस वर्षदेखि प्रदेश सरकारले गर्दैछ । एसईई परीक्षामा ४ लाख ७५ हजार विद्यार्थी सामेल हुँदैछन्, जसमा २ लाख ३६ हजार ४४५ छात्र र २ लाख ३८ हजार ५५८ छात्रा छन् । यस्तै एक्जाम्टेडतर्फ १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

यस वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको सम्पूर्ण विवरण अनलाईनमार्फत राख्ने प्रणाली सुरु गरेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । परीक्षाका लागि देशभर १ हजार ९६९ वटा परीक्षा केन्द्र छुट्याईएको छ । काठमाडौमा यस वर्ष १६ केन्द्र थपिएको छ । एउटा परीक्षा केन्द्रमा ४ सय भन्दा बढी विद्यार्थी हुँदा परीक्षा सञ्चालन गराउन समस्या भएकाले परीक्षा केन्द्र थप गरिएको परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो ।

परीक्षा सञ्चालनका लागि लाग्ने जनशक्ति, परीक्षा गराउन लाग्ने खर्च र अनुगमनको लागि प्रदेश तहमा यस बर्ष करिब ३४ करोड रकम पठाईएको छ । परीक्षा गराउने र कपी परीक्षण भने परीक्षा नियन्त्रण कार्यलयवाट हुनेछ जसको लागि २४ करोड रकम छुट्याईएको छ । परीक्षामा हुने अनियमितता रोक्न एवं यसलाई मर्यादित र व्यवस्थित बनाउन विगत वर्षहरु जस्तै यस वर्ष पनि सम्पूर्ण स्रोत परिचालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू