अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

नेपाली काँग्रेस शशांक कोइरालाको अभिव्यक्तिप्रति गगन थापाको आपत्ति

बिआरटीनेपाल २०७५ चैत ८ गते ९:२९ मा प्रकाशित

नेपाली काँग्रेसका युवा नेता गगन थापाले पार्टी महामन्त्री शशांक कोइरालाले ‘संघीयता र गणतन्त्रको विषयमा जनमत संग्रहमा जान सकिने’ अभिव्यक्ति दिएकोमा आपत्ति जनाउनुभएको छ । नेता थापाले महामन्त्री कोइरालाप्रति संकेत गर्दै पार्टीभित्र खुला छलफल नगर्ने तर सार्वजनिक कार्यक्रममा विभिन्न विषयमा जनमत संग्रहमा जान सकिने कुरा जिम्मेवार नेताहरुले गरिरहे पार्टी ठूलो भडखालोमा जाकिने चेतावनी पनि दिनुभयो ।

शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता थापाले गिरिजाप्रसाद कोइरालाले लिनुभएको सहमति, सहकार्य र एकताको सुत्रलाई आत्मसात् गरेर पार्टीलाई एकतावद्ध बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभएको छ । उहाँले नेताहरुलाई पार्टी भड्खालोमा जाने र नेता कार्यकर्ता आफै अलमलमा पार्ने खालको अभिव्यक्ति नदिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै अर्का काँग्रेस नेता शेखर कोइरालाले सरकारले संघीयता समाप्त पार्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादतर्फ उन्मुख रहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।

काँग्रेस नेता कोइरालाले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि गिरिजाप्रसाद कोइरालाले खेल्नु भएको असाधारण भूमिकाको पनि चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू