अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

हतियार विसाएर वार्तामा आउन विप्लव समुहलाई सरकारको आग्रह

बिआरटीनेपाल २०७५ चैत ७ गते ९:१५ मा प्रकाशित

सरकारले प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव समुहलाई हिंसा छाडेर वार्तामा आउन  आग्रह गरेको छ । सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार वार्ता गर्न सधैँ तयार रहेको तर वार्ताका नाममा विप्लव समूहलाई थप मजबुद हुने समय भने नदिने स्पष्ट पार्नुभयो ।

मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकार सधैँ शान्ति र वार्ताको पक्षमा रहेको बताउनु भयो । उहाँले विप्लवले हतियार बिसाउँदै संविधान स्वीकारेर आए वार्ताका लागि तयार रहेको बताउनु भयो । सरकारले विप्लव समुहलाई कहिल्यैपनि सिध्याउने कुरा नगरेको उहाँको भनाई थियो । उहाँले सरकारको शब्दकोषमा मार्ने भन्ने कुरा नभएको र भए पनि त्यसलाई हटाउन चाहेको बताउनु भयो ।

हतियारले कुनै पनि समस्या समाधान नदिने भन्दै मन्त्री बास्कोटाले उक्त समुहलाई वार्तामा आउन आग्रह गर्नुभएको हो । मुलुकभरि चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ता धरपकड भइरहेको सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले सरकार वार्ताबाट समस्या समाधान गर्न चाहिरहेको प्रस्ट पार्नुभयो ।

सामाजिक समस्या बिद्यमान रहेपनि हतियारले समाधान नगर्ने भन्दै मन्त्री बाँस्कोटाले त्यसका निम्ति चेतनाको सशस्त्रीकरण आवश्यक रहेको औंल्याउनुभयो । शान्तिपूर्ण तरिकाले सम्पूर्ण राजनीतिक कुराहरुलाई समाधान गर्न सकिने उत्तम बाटो रहेको भन्दै उहाँले वार्तामा नआए चन्द समूह आफैं सकिने चेतावनी समेत दिनुभएको छ ।

गलत, असम्भव, असान्दर्भिक र दार्शनिक, राजनीतिक र वैचारिक हिसाबले समाजमा अस्वीकार गर्ने विषय छोडेर कोही सानो नहुने मन्त्री बास्कोटाको भनाई थियो । कुनै पनि नेपालीले देशलाई पुनः द्वन्द्वतर्फ फर्केको हेर्न नचाहेको, राजनीतिक अभीष्ट पूरा गर्न बलको प्रयोगलाई अस्वीकार गरेको र निर्दोष व्यक्तिको हत्या तथा गैरकानुनी चन्दा असूली सधैँसधैँका निम्ति अन्त्य हुनुपर्ने जनअभिमत रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू