अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४१ | Colorodo: 09:56

विश्व मुख स्वास्थ्य दिवस– स्वस्थ्य मुखका लागि सजग बनौँ

बिआरटीनेपाल २०७५ चैत ६ गते १०:०८ मा प्रकाशित

समयमै उचित ध्यान नदिँदा दाँत तथा मुखका सामान्य समस्याले पनि जटिलता उत्पन्न गर्ने भएकाले मुख स्वास्थ्यप्रति सजग रहन चिकित्सकहरूले सुझाव दिएका छन्। प्रायः नेपालीका दाँत २० देखि २२ वर्षको उमेरमै १–२ वटा र ४० देखि ५० वर्षको उमेरमा ४–५ वटा झरिसकेको पाइन्छ। नेपालीहरूले मुख गन्हाउने, दाँतबाट रगत आउने, दाँत किराले खानेजस्ता समस्यलाई सामान्य जस्तै मान्ने गरेको भन्दै चिकित्सकहरूले मुखका समस्याको उचित निदान र उपचारले शरीरका अन्य प्रणालीका रोगको समेत निदान र उपचार हुने बताएका हुन्।

विश्व मुख स्वास्थ्य दिवसका अवसरमा ओम समाज डेन्टल अस्पताल चावहिलले मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा गरेको कार्यक्रममा म्याग्जिलो फिसियल सर्जन डा. सुवास घिमिरेले मुटुका रोग, प्रेसर, सुगरलगायत ६० प्रतिशत रोग मुखको स्याहार नगर्दा लाग्ने बताउनुभयो । दाँतको सरसफाइ गर्दा ७५ प्रतिशत दन्तरोग कम गर्न सकिने भन्दै उहाँले दिनमा ३ पटक दाँतका पाँचवटै भाग सफा गर्ने तर दाँत धेरै नघोट्ने गरी ब्रस गर्नुपर्ने बताउनुभयो ।

रातभरमा मुखमा किटाणुहरू थुप्रिने भएकाले बिहान उठ्नेबित्तिकै दाँत माझ्नु राम्रो हुने उहाँको सुझाव छ। दिनको दुई पटक ब्रस गर्ने, गुलियो खाएपछि सफा गर्ने, सुत्नुभन्दा अगाडि मनतातो पानीमा नुन राखेर कुल्ला गर्दा मुख स्वस्थ रहने डा. घिमिरेको भनाई छ ।  मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, भित्रको गालासमेत पर्दछ। दाँतका साथै जिब्रो, गिजालाई पनि सफा र स्वस्थ राख्नुपर्नेमा डा. घिमिरेले जोड दिनुभयो । विश्व स्वास्थ्य संगठनका अनुसार औद्योगिक राष्ट्रका बालबालिकामा ९० प्रतिशतसम्म दन्त सडन पाइएको पाइन्छ ।

नेपालका ६५ देखि ७० प्रतिशत बालबालिका तथा ९० प्रतिशत वयस्कमा दन्त सडन रहेको अनुमान गरिएको छ। गाउँमा भन्दा सहरी बालबालिकामा दन्त सडन दोब्बर रहेको चिकित्सकहरूको अनुमान छ। हरेक वर्ष मार्च २० का दिन विश्वभर मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ । यसवर्ष ’अहा भन्नुहोस्, सोच्नुहोस् मुख, सोच्नुहोस् स्वास्थ्य’ भन्ने मूल नाराका साथ मुख स्वास्थ्य दिवस मनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू