अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

पोखरामा होली, झुमे पर्यटक

बिआरटीनेपाल २०७५ चैत ६ गते ९:२८ मा प्रकाशित

पोखराको लेकसाइडमा बुधबार पर्यटकहरु रङको पर्व होलीमा रमाएका छन् । होलीमा विभिन्न रङले रंगिएर आन्तरिक तथा बाह्य पर्यटक रमाएका हुन् । होलीको अवसरमा पोखराको लेकसाइडस्थित ३ किलोमिटर क्षेत्रमा सवारी साधन जान रोक लगाएर होली मनाईएको हो ।

होली मनाउने क्रममै पर्यटकलाई नेपाली संस्कृति फागु पर्वको महत्वको बारेमा पर्यटन व्यवसायीले जानकारी गराएका थिए । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) च्याप्टर पोखराले होलीको अवसरमा लेकसाइडमा होली उत्सवको आयोजना गरेको हो । लेकसाइडको विभिन्न स्थानमा लाइभसन्सर्ट समेत भएको छ ।

नाचगान र विभिन्न रंग एक आपसमा लगाएर पञ्चेबाजा बजाएर पर्यटन व्यवसायी, पर्यटक र स्थानीयले होली मनाएका छन् । नेपाली मौलिक पर्वमा विदेशी पर्यटक निकै रमाएका थिए । होलीमा सहभागी भएका कतिपय विदेशी पर्यटकले नेपालमा आएर नौलो अनुभव लिएको सुनाएका छन् ।

शान्त सुन्दर पोखरामा नेपाली संस्कृतिमा रमाउन पाउँदै निकै खुशीलागेको पर्यटकहरुले बताएका छन् । नेपाली संस्कृतिको माध्यमबाट पर्यटक आकर्षण गर्न पोखराका पर्यटन व्यवसायीले विभिन्न चाड पर्व पर्यटक संग आपसी सद्भाव, भाइचारा बढाउन मनाउँदै आएका छन् ।

तिहारमा भाइटीका, असार १५ मा असारे महोत्सव गर्दै आएका पोखराका पर्यटन व्यवसायीले फागु पूर्णिमामा होली पर्वका रुपमा पर्यटकमाझ एक आपसमा अबिर दलेर बाजागाजाका साथ फेवाताल किनारमा रमाउने गर्दछन् । रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा विगत १३ वर्ष देखि नेपाली संस्कृतिको माध्यमबाट पर्यटकको बसाई बढाउन र पर्यटन प्रवद्धन गर्ने उद्देश्यले फागु पूर्णिमा (होली पर्व) मनाइदै आएको रेवान पोखराले जनाएको छ ।

फागु पूर्णिमालाई वसन्त ऋतुको आगमनको खुसीको रुपमा मनाउने गरिएको पनि पाइन्छ । गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक भ्रमण वर्षको रुपमा मनाइरहेको अवसरमा आन्तरिक पर्यटकलाई समेत लक्षित गरि यस वर्ष होली पर्व मनाइएको हो ।

प्रतिक्रिया