अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

प्रचण्ड अमेरिकाबाट फर्केपछि योगेश भट्टराईलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री ओलीको आश्वासन

बिआरटीनेपाल २०७५ चैत ४ गते ९:४६ मा प्रकाशित

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाबाट फर्केपछि योगेश भट्टराईलाई मन्त्री नियुक्त गर्ने आश्वासन दिनुभएको छ । आइतबार नेकपा प्रदेश कमिटी प्रदेश नम्बर १ को पहिलो बैठक तथा सपथ ग्रहण समारोहलाई सम्बोधन गर्न विराटनगर पुग्नुभएका प्रधानमन्त्री ओलीले कार्यक्रममा भेट भएका नेता भट्टराईलाई ठट्यौली शैलीमा प्रचण्ड अमेरिकाबाट फर्केपछि मन्त्री नियुक्त गर्ने बताउनुभएको हो ।

प्रदेश कमिटीको कार्यक्रमस्थलमा छिर्ने क्रममा भट्टराईसँग जम्काभेट भएपछि प्रधानमन्त्री ओलीले ठट्यौली शैलीमा ‘योगेशलाई मन्त्री बनाउन भनेको बन्दिन भनेको सुन्छु कुरा के हो’ भन्दै कुराकानी सुरु गर्नुभएको थियो । प्रत्यक्षदर्शीका अनुसार जवाफमा भट्राईले आफू मन्त्री बन्न तयार रहेको र अहिले नै शथप खुवाए पनि तयार रहेको बताउनुभएको थियो ।

भट्टराईले तत्कालै मन्त्री बनाए पनि तयार रहेको बताए पनि प्रधानमन्त्री ओलीले अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देश बाहिर रहेकाले अहिले नमिल्ने जवाफ दिनुभयो । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेर फागुन १५ गते संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि उक्त मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आउनुभएको छ । मन्त्रिमण्डल हेरफेर हुने चर्चा चले पनि प्रधानमन्त्री ओलीले मन्त्री नफेरिने बताउँदै आएका छन् । आइतबार विराटनगरमा ओलीले मन्त्रिमण्डल फेरबदल नभइ पूर्णता दिने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू