अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

प्रचण्ड र सीके राउतलाई दाँज्न मिल्दैन – डा. भट्टराई

बिआरटीनेपाल २०७५ चैत ४ गते ९:२८ मा प्रकाशित

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीके राउतलाई दाँज्न नमिल्ने बताउनुभएको छ । पार्टी केन्दि«य कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले प्रचण्डको बचाउ गर्दै उहाँ एउटा जनयुद्धको नेतृत्व गरेर आएको ब्यक्ति रहेको स्पष्ट पार्नुभयो ।

प्रचण्ड र आफु जे सुकै भएपनि अहिले अलग्गै ठाउँमा रहेको उल्लेख गर्दै डा. भट्टराईले सम्झौता गरेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने बिन्दुसम्म आफुहरुले पुर्याएको बताउनुभयो । प्रचण्ड र राउत उस्तै हो भन्न मिल्छ ? भन्ने प्रश्न गर्दै भट्टराईले राउतले आत्मसमर्पण गरेको तर प्रचण्ड र आफुले आत्मसमर्पण नगरेको दावी गर्नुभयो । “प्रचण्ड र बावुराम संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्न अगाडि लागेका मान्छे हुन् , तर, प्रचण्ड र राउत एकै हुन् भन्नु हात्ती र हात्तीछाप चप्पल उस्तै उस्तै हो नानु भने जस्तै हो ।”, भट्टराईले भन्नुभयो ।

डा. भट्टराईले राउतलाई सरकारले वार्ता गरेर पृथकतावादी बाटो छाडेर शान्ति प्रक्रियामा ल्याएको भए स्वागत गर्न सकिने पनि बताउनुभयो । “हामी आफैं विद्रोह गरेर आएका ब्यक्तिहरु हौं, वार्तामा बसेको राम्रो अनुभव हामी आफैंसँग छ, भट्टराईले भन्नुभयो, सरकारले यति अपारदर्शी हिसाबले काम गरेको छ, कि सर्वाेच्च अदालतलाई समेत प्रभावित पारेर अघिल्लो दिनमा छुटाउने, भोलिपल्ट हस्ताक्षर गर्ने, यो गर्न के जरुरी थियो ? के स्वार्थ हो ? म भन्छु घिउ बेचुवा र तरबार बेचुवा जस्तो प्रधानमन्त्रीलाई पनि परेको छ मैले उसलाई ठगे, उनलाई पनि परेको छ यिनलाई मैले ठगे, तर कस्ले कस्लाई ठगे भन्ने छ ।”

भट्टराईले सरकारले राउत, नेत्रविक्रम चन्द र रेशम चौधरीप्रति गरिएको व्यवहारमा तालमेल नभएको समेत बताउनुभयो । सरकार र सीके राउतबीच भएको सम्झौता अनुचित भएको समेत उहाको भनाई थियो । पृथकतावादी नीति लिएर हिडेको, सर्वोच्च अदालतको आदेशमा थुनामा रहेको ब्यक्तिलाई अदालतलाई दबाब दिएर बाहिर निकाल्नु हास्यास्पद भएको भट्टराईको टिप्पणी रहेको छ । संविधान निर्माणका बेलाका असन्तुष्ट अन्य शक्तिलाई राजनीतिक ढंगले सम्बोधन गरिएको र रेशम चौधरीलगायत थारु नेतालाई अपराधिक ढंगले व्यवहार गरिएको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।

सत्तारुढ नेकपा र चन्द नेतृत्वको नेकपा आन्दोलनका दुइवटा भाग भएको भन्दै भट्टराईले सत्ताधारी नेकपा यथार्थवादी र चरम भ्रष्टाचारमा डुबेको आरोप लगाउनुभयो । चन्दलाई उहाँले जडसुत्रीय चिन्तन राखेर विध्वंसात्मक गतिविधिमा लागेको आरोप पनि लगाउनुभयो । चन्दलाई प्रतिबन्ध लगाउनु गलत भएको भन्दै भट्टराईले विद्रोहका गतिविधिलाई दमन नगरी एक्ल्याएर समस्याको समाधान गरिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू