अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

साना उद्योग मुलुकको आर्थिक समृद्घिको आधार: प्रदेश नं. १ उद्योग मन्त्री कुशियत

बिआरटीनेपाल २०७५ चैत ३ गते १०:०१ मा प्रकाशित

काठमाडौँ । प्रदेश नं. १ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय जगदीश प्रसाद कुशियतले नेपालले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको बताउनुभएको छ । यस्ता उद्योगहरू नै मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ प्रदेश नं.१ सरकार केन्द्रित रहने बताउनुभयो । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घसँग लघु, घरेलु तथा साना उद्योगको विकास प्रवर्द्धनका लागि स्थानीय निकाय, प्रदेश सरकार र केन्द्र सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा छलफलमा यस्तो बताउनुभएको हो ।

मुलुकको संविधानकै मूल मर्म समृद्घि भएको भन्दै उहाँले अबको प्रमुख काम भनेकै आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपले समृद्घि भएकोमा जोड दिनुभयो । समृद्घिका लागि आफैसँग भएका स्रोत साधनको खोजी र उपयोगिताबाट मात्रै प्राप्त गर्न सकिने भन्दै उहाँले स्थानीय स्रोत साधनमा आधारित लघु, घरेलु तथा साना उद्योगको संरक्षण र प्रवद्र्घनबाट मात्रै समृद्घि सम्भव भएको बताउनुभयो ।

महासङ्घका अध्यक्ष श्याम प्रसाद गिरीले भर्खरै मात्र सांसदद्वारा पारित विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन संशोधन र एकीकरण विधेयकमा लघु उद्यम तथा घरेलु उद्योग लगायत कृषि तथा कृषिसँग सम्बन्धित उद्योग, मत्स्यपालन, मौरी पालन तथा डेरी उद्योगमा समेत विदेशी लगानी खुला गरिएकोमा यसले मौलिक पहिचान भएका लाखौँ स्वदेशी उद्योगहरूलाई धराशायी पार्ने भएकाले हाम्रा मौलिक पहिचान भएका बस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योगमा विदेशी लगानीको प्रावधानलाई हटाउनुपर्ने तर्फ जोड दिनुभयो ।

लघु, घरेलु तथा साना उद्योग दर्ता तथा नवीकरण गर्ने अधिकार पालिकालाई दिने र प्रदेश सरकारले विभिन्न स्किमहरू बनाई यसको विकास र प्रवर्द्धनका लागि पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।

स्वदेशी वस्तुको बजार पहुँचको दायरालाई फराकिलो बनाउन भारत सरकारले समेत सार्वजनिक खरिद प्रक्रियामा २५ प्रतिशतसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने व्यवस्था गरेको सन्दर्भमा नेपालमा पनि सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकामा व्यवस्था गरे बमोजिम १५ प्रतिशतसम्म महँगो भए पनि उपलब्ध भएसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने व्यवस्थालाई सबै तहका सरकारले प्रभावकारी रूपमा लागु गराउनुपर्ने अध्यक्ष गिरीले ध्यानाकर्षण गराउनुभयो ।

उद्योग व्यवसायको क्षेत्रमा विभिन्न बहानामा गरिने तोडफोड, हत्या, विस्फोट जस्ता घट्नालाई निस्तेज पारिनुपर्ने । हालै वैदेशिक रोजगारी व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको घटनाको महासङ्घ विरोध गर्दछ र यस घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न महासङ्घ आग्रह गर्दछ । नेपालको संविधान बमोजिम प्रदेश नम्बर १ सभाले बनाउने ऐन र कानुन निर्माण गर्दा सरोकारवाला नीति निर्माण एक जीवन्त प्रक्रिया भएको भन्दै महासङ्घका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरूप लघु घरेलु तथा साना उद्योग सम्बन्धी नीतिहरू थप प्रस्ट एवम नियमित रूपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरू आर्थिक रूपान्तरणको संवाहक हुन सक्ने बताउनुभयो ।

महासङ्घले उठान गरेका विषयहरूप्रति प्रदेश सरकारका मन्त्री कुशियतले लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनका लागि पहल र प्रयास गर्ने बताउँदै आवश्यक परेमा महासङ्घको प्रतिनिधिलाई बोलाई छलफल गरिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू