अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

क्रिकेटको एक दिवसीय वरियतामा नेपाल यथावत्

बिआरटीनेपाल २०७५ चैत ३ गते ९:५८ मा प्रकाशित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १५ औँ स्थानमा रहन सफल भएको हो । अघिल्लो महीनापछि नेपाल १५औँ स्थानमा रहेको थियो । नेपाल गत महीनाबाट आइसिसीको वरियतामा पर्न थालेको हो । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एक दिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा समावेश भएको हो । उक्त सिरिज नेपालले २–१ ले जितेको थियो ।

यसैगरी टी–२० वरियतामा भने नेपाल १४औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा इङ्गल्याण्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् । चौथोमा दक्षिण अफ्रिका र पाँचाँैमा अष्ट्रेलिया रहेको छ ।

एक दिवसीय क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा भारतका कप्तान विराट कोहली यथावत् रहेका छन् । यस्तै भारतकै रोहित शर्मा दोस्रो, न्युजिल्याण्डका रोस टेलर तेस्रो, दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्विण्टन दी कक चौथो तथा दक्षिण अफ्रिकाकै कप्तान फाफ डुप्लेसिस पाँचौँ स्थानमा रहेका छन् ।

अलराउण्डरतर्फ अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा रहँदा बङ्गलादेशका शकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहमद नाबी तेस्रो, पाकिस्तानका मोहोमद हफिज चौथो र न्युजिल्याण्डका मिचेल स्टाननर पाँचौँ स्थानमा रहेका छन् । आइसिसीले प्रत्येक महीना ती देशहरुले खेलेका प्रतियोगिताका आधारमा अङ्क निर्धारण र वरियता सार्वजनिक गर्ने गर्दछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू