अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

खेलकुद मन्त्रालयको एकवर्षे ‘उपलब्धि’ सार्वजनिक- आठौं राष्ट्रिय खेलकुद चालु आर्थिक बर्षभित्रै गरिने

बिआरटीनेपाल २०७५ चैत ३ गते ९:३७ मा प्रकाशित

नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता यही आर्थिक बर्षभित्र आयोजना गरिने बताउनुभएको छ । आफ्नो एकवर्षे कार्यकालका उपलब्धिहरु सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले यही आर्थिक बर्षभित्र आठौं राष्ट्रिय खेलकुद तथा सन् २०१९ भित्र १३ औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्ने जानकारी दिनुभयो ।

सो अवसरमा दुवै ठूला प्रतियोगिताहरुको मिति भने मन्त्री विश्वकर्माले तोक्नुभएन । मन्त्री विश्वकर्माको भनाइसँगै चैत अन्तिम साता राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने सम्भावना कमजोर बनेको छ । यसअघि, राष्ट्रिय खेलकुद परिषद (राखेप)ले चैत अन्तिम साता सो प्रतियोगिता आयोजना गर्न सिफारिस गरेको थियो ।

यसैगरी, नेपालगन्जको मुख्य रंगशाला निर्माणको काम सम्पन्न हुनेबित्तिकै प्रतियोगिताको मिति तोकिने मन्त्री विश्वकर्माको भनाइ छ । पछिल्लो एक वर्षमा नेपाली खेलकुदले उल्लेखनीय फड्को मारेको उहाँले दावी गर्नुभयो । मूख्यतः भौतिक पूर्वाधार निर्माण र खेलकुद संघहरुको विवाद समाधानमा महत्वपूर्ण सफलता हात पारेको उहाँको जिकिर छ ।

नेपाली क्रिकेट टोलीको सफलता, एसियाली खेलकुदमा नेपालले पाराग्लाइडिङतर्फ हासिल गरेको रजतपदक एवं शारीरिक सुगठनतर्फ महेश्वर महर्जनले जितेको स्वर्णपदकलाई मन्त्री विश्वकर्माले आफ्नो कार्यकालको विशेष अन्तर्राष्ट्रिय उपलब्धि मान्नुभएको छ । मन्त्री विश्वकर्माले यो एक वर्षको अवधिमा खेलकुदमा नीतिगत सुधारको थालनी भएको समेत दावी गर्नुभयो ।

खेलकुदमा संघीय व्यवस्थाअनुसार संरचनागत परिवर्तनको आधार तयार भएको उहाँको तर्क रहेको छ । यसका लागि खेलकुद ऐन परिमार्जन गर्न बनेको विधेयक मन्त्रिपरिषदमा पुगेको छ । यसैगरी, राष्ट्रिय खेलकुद परिषदको कर्मचारी व्यवस्थापनसम्बन्धी महत्वपूर्ण कामपनि अन्तिम चरणमा पुगेको पनि मन्त्री विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू