अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

महानायक राजेश हमाललाई ’ट्रिब्युट’ गर्ने

प्रदिप कार्की २०७५ चैत २ गते १०:२३ मा प्रकाशित

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै महानायक राजेश हमाललाई ‘ट्रिब्युट’ गर्ने जानकारी गराइएको छ । साधना कला केन्द्रले एक पत्रकार सम्मेलनको आयोजना गर्दै ‘ट्रिब्युट टु मेगा स्टार राजेश हमाल’ गर्न लागिएको जनाएको हो । साधन कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी होस् भनेर जमर्को गरेको बताए । 

घोषणा कार्यक्रममा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटा, गायक राजेश पायल राई, यम बराल, रवि ओड लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अभिनेता हमालको हिट डायलग र गीतको केही क्लिप्सलाई देखाइएको थियो । आउँदो वर्ष २०७६ को जेठ महिनामा कार्यक्रमको आयोजना हुने बताइएता पनि डेट भने फिक्स नभइसकेको जनाइयो ।

अभिनेता हमालको फिल्मी यात्रामा धेरै नै व्यक्तित्व जोडिएको हुनाले उहाहरुसँगको छलफलपछि एउटा डेट फाइनल गरिने अध्यक्ष मोक्तानले बताए । अन्य देशमा गरिने सम्मान देखेर आफ्नो देशका अग्रज कलाकारलाई ट्रिब्युट गर्ने आइडिया फुरेको पनि उनले बताए । राजेशले पनि विभिन्न भेटघाटपछि उद्देश्य नेक लागेर नै आफूले अनुमति दिएको बताए । कार्यक्रममा उपस्थित शम्भुजित बास्कोटा, राजेश पायल राई, यम बराल र रवि ओडले पनि यस कार्यको तारिफ गर्दै सफलताको शुभकामना दिए ।

कार्यक्रमलाई साधना कला केन्द्र र लाइभ नेपालले संयुक्त रूपमा गर्नेछन् । कार्यक्रममा राजेशका हिट गीतहरूका गायक, उनको को-स्टारलाई ट्रिब्युटमा उपस्थित गराउने तयारी भइरहेको आयोजक संस्थाका सदस्य दशरथले बताए ।

राजेश हमाल: मैले पनि पहिलो प्रश्न म नै किन ? भनेर सोधेको थिए तर उहाहरुको उद्देश्य नेक लागेर हुन्छ भनेको हु । एउटा राम्रो कार्यको थालनी मबाट हुन्छ भने किन नगर्ने भनेर सहमत भएको हु । म धन्यवाद पनि दिन चाहन्छु कि पहिलो रोजाइमा म परे । यसले एउटा परम्पराको थालनी गरेको छ । यसपछिका दिनमा पनि यसै गरी सर्जकलाई सम्मान गर्न सक्नु होस् भन्ने शुभकामना छ । म खुसी छु । फिल्मी यात्राले दिलाउने सम्मान र दर्शकको माया नै हाम्रो ऊर्जा हो ।

शम्भुजित बास्कोटा: राजेश ट्रिब्युटको हकदार छ । किनकि उसले आफ्नो जीवनको सुरुवाती पल देखि नै फिल्मनगरीमा आफूलाई समर्पित गरेको छ । युग देखि युग सम्म मार्फत सुरु भएको यात्रामा उसले आफूलाई निरन्तर कर्मक्षेत्रमै व्यस्त बनाएको छ । राजेश एक यस्ता कलाकार हुन् जसको नाम नै पहिचान हो , उनलाई चिनाउनु पर्दैन चाहे त्यो जुनै उमेर समूहका हुन् । यहाँ राजेशलाई ट्रिब्युट गर्ने कार्यक्रमको घोषणा समारोहमा उपस्थित भएर शुभकामना दिन पाउँदा निकै खुसी छु । समय मिलाएर मैले राजेशको लागि गरेको सङ्गीत र गीतलाई ट्रिब्युटमा प्रस्तुत गर्नेछु ।

राजेश पायल राई: निकै खुसी लागेको छ, मेरो प्यारो नायक मितज्यू राजेश हमाललाई ट्रिब्युट गरिँदै छ । यसको थालनी अगाडी बाटै हुनु पर्थ्यो । हामीले यसनगरीबाट पाउने सम्मान वा दर्शकको माया नै हो, जो हाम्रो ऊर्जा हुन् । फेरी राजेश हमाल कलानगरीको एउटा अमूल्य सम्पत्ति हुन् । म आफै पनि उहाँसँग व्यक्तिगत रूपमा निकै नजिक छु त्यसैले मात्र खुसी छैन किनकि साँचै नै उहाँलाई हामीले पनि केही दिने बेला आएको छ । म उहाँसँग धेरै राष्ट्रमा सँगै कार्यक्रम गर्न पुगेको छु , उहाँलाई देख्दा मात्र पनि विदेशीले पनि जिज्ञासु हुने गर्छन् कि उहाँ साधारण मान्छे मात्र होइन भनेर । उहाँको फिल्मको लागि मैले पनि गीत गाउने मौका पाएको छु, उक्त गीतसङ्गीतलाई म पनि प्रस्तुत गर्नेछु ।
रवि ओड स् आज यो स्टेजमा सँगै बसेर बोल्न पाउनु नै मेरो भाग्य हो । मैले यो सोचेको पनि थिइन्, जसलाई हेर्दै हुर्किए आज उहाँकै बारेमा बोल्न पाएको छु । मैले उहाँको लागि गीत गाउने मौका त पाएको छैन तर ट्रिब्युटमा केही न केही अवश्य प्रस्तुत गर्नेछु । मेरो साङ्गीतिक यात्रामा राजेश सरको पनि अप्रत्यक्ष सहयोग रहेको छ । उहाँले अभिनय गर्नु भएका गीतहरू गाउँदै हुर्किए र प्राक्टिस पनि गरे ।

मिलन मोक्तान: विदेशमा ट्रिब्युट गर्ने गरिन्छ तर हामी कहाँ यस्तो चलन छैन, त्यसैले पनि यसको थालनी गर्ने सुरुवात गरेका हौ । हामीले जसरी राजेश जीलाई प्रस्ताव गर्‍यौ, उहाँको सल्लाह र सुझावले झनै हौसिएका छौ । उहाँको कलाकारिताको त अब कुरा नै गर्न पर्दैन किनकि सबै उहाँ बारे विज्ञ नै हुनुहुन्छ । तर उहाँले यस क्षेत्रको लागि खर्चेको समय साँचै तारिफ योग्य छ । उहाँको सम्मानमा हामीले गर्न लागेको यो कार्यक्रम एउटा सानो अंश मात्र हो । राजेश हमाललाई हामीले ट्रिब्युट गर्न पाउनु हाम्रो लागि ठुलो अवसर हो ।