अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा

बिआरटीनेपाल २०७५ चैत २ गते ८:५४ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा प्रत्येक वर्ष गरिँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair) यही चैत्र १४ देखि १८ गतेसम्म काठमाडौँमा आयोजना हुंदैछ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाको तयारी अन्तिम चरणमा पुगेको छ भने स्टल बुकिङ लगभग सकिएको छ । मेलामा चीनबाट ८० वटा, भारतबाट १० वटा, बङ्गलादेशबाट ४० वटा रहेको छ भने बांकी नेपाली स्टल रहने छन् ।

नेपाल सरकार, वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धनमा ललितपुर उद्योग वाणिज्य सङ्घ र नेपाल हस्तकला महासङ्घको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०१९ आठौँ संस्करण हो ।

कुल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, म्यानमार लगायतका देशहरूको सहभागिता रहनेछ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको छ । मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन् ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यावसायिक सम्बन्ध विस्तारमा एक महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानी बारे छलफल समेत हुने छ । यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब १ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

महासङ्घकै नेतृत्वमा यस वर्ष अघिल्लो वर्षहरूमा जस्तै मुलुकभित्र प्रादेशिक, जिल्ला स्तर एवं बस्तुगत गरी करिब ३० देखि ४० वटा मेलाहरू विभिन्न भागमा आयोजना हुँदै आई रहेका छन् । केही मेला सम्पन्न भैसकेका छन् भने केही तयारी गर्दै रहेका छन् ।

महासङ्घले सफलतापूर्वक सम्पन्न गरेको अघिल्लो वर्षको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ मा एकलाखभन्दा बढी स्वदेशी एवं विदेशी आगन्तुकहरूले अवलोकन गरेका थिए भने स्वदेशी विदेशी गरी ३ सय वटा ४० प्रर्दशीकर्ताहरूबाट वस्तु तथा सेवाको प्रदर्शनी गरिएको थियो ।

मेलामा चीन, भारत, बङ्गलादेश, कोरिया, जापान, लगायतका देशबाट खरिदकर्ताहरू आएका थिए । मेलामा नेपाली निर्यात योग्य बस्तुहरूका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरूको समेत उल्लेख्य सहभागिता थियो ।

राष्ट्रिय अन्तराष्ट्रियतहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा एवं विश्वास महासङ्घले लिएको छ ।

फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू