अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

भारतद्वारा २०० नेपाली विद्यार्थीहरूलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान

बिआरटीनेपाल २०७५ फागुन २९ गते ९:५९ मा प्रकाशित

काठमाडौँ, काठमाडौँ स्थित भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरूमा स्नातक तहको अध्ययनलाई अघि बढाउन २०० जेहेन्दार नेपाली विद्यार्थीहरूलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ । यस वर्ष नेपालका ५० जिल्लाको विद्याथीहरुले MBB, BDS, BE, B.Sc., BBA, B.Com. लगायत ३६ वटा स्नातक कोर्सका लागि छात्रवृत्ति पाउनेछन् । यी विद्यार्थीहरू मध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग रहेका छन् ।

होटेल हायात रिजेन्सीमा आयोजित स्वर्ण जयन्ती छात्रवृत्ति समारोहका प्रमुख अतिथि शिक्षा सचिव खगराज बरालले २०० विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गर्नुभयो । नेपालका लागि भारतीय राजदूत श्री मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूलाई व्यक्तिगत तथा व्यावसायिक सफलता हासिल गर्न सल्लाह दिनुभयो । उनीहरूको सफलताले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्‍याउनुका साथै भारत–नेपाल सम्बन्धलाई थप मजबुत बनाउनेछ ।

सन् २००२ मा भारत सरकारले “भारत–नेपाल आर्थिक सहकार्य” को ५० वर्ष पुरा भएको अवसरमा यस प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्तिको सुरुवात गरेको थियो । यस छात्रवृत्ति कार्यक्रमको पहिलो संस्करण अन्तर्गत ५० जेहेन्दार नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा सो छात्रवृत्ति सङ्ख्या वृद्धि भई १०० पुगेको थियो । सन् २०१२ देखि यता छात्रवृत्ति सङ्ख्या दुई गुनाले वृद्धि भएर २०० भएको छ । यस छात्रवृत्ति कार्यक्रम अन्तर्गतMBBS/BDS को विद्यार्थीले पाँच वर्ष सम्म प्रति महिना नेरु ४०००/–, BE को विद्यार्थीले चार वर्षसम्म प्रति महिना नेरु ४०००/– र अन्य स्नातक कोर्स अध्ययन गर्ने विद्यार्थीले तीन वर्ष सम्म प्रति महिना नेरु ३०००/– प्राप्त गर्नेछन् । हाल सम्म नेपालका ७७ जिल्लका २३५० भन्दा बढी नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरिसकिएको छ ।

नेपाल तथा भारतका विश्वविद्यालय तथा कलेजमा चिकित्सा, विज्ञान, पशु विज्ञान, औषधि विज्ञान, दन्त विज्ञान, कृषि, इन्जिनियरिङ, कला, कमर्स, विज्ञान, कम्पुटर विज्ञान, नर्सिङ तथा अन्य विभिन्न विषयका अध्ययनका लागि भारत सरकारले कुल ३००० छात्रवृत्ति प्रदान गर्दछ । यी छात्रवृत्तिहरू नेपाल तथा नेपाली जनताको समग्र सामाजिक–आर्थिक विकासका निमित्त नेपालमा मानव स्रोतको विकासमा सहयोग पुर्‍याउन भारतले गरेको प्रयासको एक हिस्सा हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू