अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

युरोप जाँदा अमेरिकी नागरिकले पूर्व अनुमति लिनुपर्ने

सन् २०२१ देखि यो व्यवस्था कार्यान्वयनमा आउने

बिआरटीनेपाल २०७५ फागुन २८ गते १४:१९ मा प्रकाशित

अमेरिकी नागरिकले युरोप भ्रमणमा जाँदा युरोपियन युनियनको पूर्व अनुमति लिनुपर्ने भएको छ । सन् २०२१ देखि यो व्यवस्था कार्यान्वयनमा आउने यो व्यवस्था अनुसार युरोपको विभिन्न ठाउँ जाँदा अमेरिकी नागरिकले समेत पूर्व स्वीकृति लिनुपर्ने भएको हो ।

युरोपियन युनियनले गत वर्ष ‘युरोपियन युनियन ट्राभल एण्ड अथोराइजेसन सिस्टम’ (इटिआइएएस) घोषणा गरेको थियो । यो व्यवस्था सेन्जेन क्षेत्रमा यात्रा गर्दा भिसा लिन नपर्ने सुविधा भएका यात्रीबाट हुनसक्ने सुरक्षा र आप्रबासन जोखिम सम्बोधन गर्न ल्याइएको हो ।

सेञ्जेन क्षेत्र २६ युरोपेली देशको समूह हो । यो क्षेत्रमा रहेका देशबिच सीमा छैन । ती देशमा मानिसहरू स्वतन्त्रतापूर्वक यात्रा गर्न सक्छन् । सेञ्जेन क्षेत्रमा स्पेन, फ्रान्स, ग्रिस, जर्मनी, इटाली, पोल्याण्डसमेत पर्छन् । हाल अमेरिकी नागरिकले युरोपमा स्वीकृति बिनै ९० दिनसम्म यात्रा गर्न पाउँछ । आइटिआइएएस लागू भएपछि यो व्यवस्था परिवर्तन हुन्छ ।

सेञ्जेन क्षेत्रमा यात्रा गर्दा अमेरिकी सहित भिसा आवश्यक नपर्ने सुविधा भएका यात्रीले सन् २०२१ देखि त्यहाँ जान पूर्व स्वीकृति लिनुपर्छ । त्यसका लागि उनीहरूले ८ डलर तिरेर अनलाइन आवेदन दिनुपर्छ । यात्रा स्वीकृति ३ वर्षका लागि वैध हुनेछ ।

‘अनलाइन आवेदनका लागि १० मिनेटभन्दा बढी लाग्दैन र ९५ प्रतिशत आवेदन स्वतः स्वीकृत हुन्छन्,’ युरोपियन कमिसनले विज्ञप्तिमार्फत भनेको छ । अमेरिकाले पनि ‘इलेक्ट्रोनिक सिस्टम फर ट्राभल’ (इएसटिए) नामक त्यस्तै प्रणाली अभ्यास गरिरहेको छ ।

‘युरोपियन युनियनले बाह्य सीमा र आन्तरिक सुरक्षा सुधार्न अमेरिकाले अभ्यास गरिरहेको इएसटिए जस्तै छुट्टै प्रणाली कार्यान्वयन गर्न गइरहेको बारे हामीलाई जानकारी छ,’ युएस स्टेट डिपार्टमेन्टका एक अधिकारीले विज्ञप्तिमार्फत भनेका छन्, ‘आफ्नो देशमा प्रवेश गर्न दिनेबारे मापदण्ड निर्धारण गर्न हरेक देशलाई अधिकार छ ।’  सिएनएन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू