अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५५ | Colorodo: 17:10

सीके राउतको गतिविधिबाट कांग्रेस सशंकित

बिआरटीनेपाल २०७५ फागुन २७ गते २२:१५ मा प्रकाशित

काठमाडौं, हालै नेपाल सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति नेपाली कांग्रेसका सांसदहरुले गम्भीर चासो व्यक्त गरेका छन् । दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चासो देखाएको हो ।

सोमबार प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल, राष्ट्रियसभाको प्रमुख सचेतक सरिता प्रसार्इं र राष्ट्रियसभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले एक विज्ञप्ति जारी गरी नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैलाई पनि कुनै सम्झौता, सहमति गर्ने छुट नभएको जनाएका छन् ।

सहमतिमा प्रयोग गरिएको जनअभिमतको आशय सिके राउत पक्षले स्वतन्त्र मधेस राष्ट्रका लागि जनमत संग्रह हो भन्ने धारणा व्यक्त गर्दै आएका छन् ।
सहमतिपश्चात सिके राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका ब्यानर, प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था सिर्जना भएको कांग्रेस नेताहरुले जनाएका छन् ।

सहमतिप्रति दुवै पक्ष इमानदार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकाले आशंका उत्पन्न भएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भनेको छ– ‘राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामाथि आँच आउने, प्रश्रय दिने सहमति तथा क्रियाकलापप्रति हामी घोर आपत्ति प्रकट गर्दछौं ।’ 

न्युजअफ नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू