अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०५ | Colorodo: 18:20

पञ्चामृत सार्वजनिक

बिआरटीनेपाल २०७५ फागुन २७ गते ११:३१ मा प्रकाशित

विदेशी भूमिमा रहेर पनि नेपाली गीतसङ्गीतमा आफूलाई निरन्तरता दिई रहेका गीतकार अर्जुन रत्न भिकारीको एकल शब्द रचना रहेको एलबम ‘पञ्चामृत’ सार्वजनिक भएको छ । लोकप्रिय सङ्गीतकार सुनिल मास्केको एक्ला सङ्गीतमा तयार भएको एलबमलाई राजधानीमा एक कार्यक्रम बिच आइतबार साँझ नेपाली गीतसङ्गीतका महारथीहरू यादव खरेल, दीप श्रेष्ठ र शम्भुजित बास्कोटाले एकसाथ विमोचन गरेका थिए । लेखनको लागि चिनिने यादव खरेल, गायक दीप श्रेष्ठ र सङ्गीतकार शम्भुजित बास्कोटा तिनै गीतसङ्गीतका सर्जकलाई प्रमुख अतिथि बनाउँदै एलबम विमोचन गरिएको हो । पाँच गीतसंग्रहित यो एलबम दर्शक तथा श्रोताको लागि पञ्चामृत साबित हुने विश्वास यससँग जोडिएको सर्जकको छ । एलबम विमोचनपछि आफ्नो मन्तव्य राख्दै वरिष्ठ गीतकार यादव खरेलले एलबममा सबै किसिमको गीत रहेको बताउनु भयो । 

अर्जुनजीको शब्दले सबै भाव व्यक्त गर्छ, त्यसैले नाम पनि सुहाएको छ’ उनले भने ’उनको शब्दले व्यक्त गर्ने भावमा दर्शक तथा श्रोता जोडिने ठाउँ प्रशस्तै देखेको छु भने कम्पोज पनि उस्तै कर्णप्रिय छन् ।’ साथै, अर्जुनको साङ्गीतिक निरन्तरताको पनि चर्चा भयो । उनले अघिल्लो वर्ष मात्र ’जय माया प्रेम’ एलबम लिएर आएका थिए । शब्द र सङ्गीतलाई न्याय गर्ने स्वर छानिएको रहेछ’ दीपले शुभकामना दिँदै भने ’शब्द र सङ्गीतलाई न्याय गर्ने स्वर खोज्नु नै पहिलो सफलता हो, शब्दको भाव र सङ्गीतको गुन्ज लाई स्वरले न्याय गरेका छन् ।’ उनले गीत सुनेको र आफूलाई मन परेको प्रतिक्रिया दिए । यसै गरी सङ्गीतकार बास्कोटाले पनि एलबमको तारिफ गरे । ’समय सुहाउँदो शब्द र सङ्गीत छ त्यसैले पनि यो श्रोता र दर्शकको रोजाइमा पर्छ’ सङ्गीतकार बास्कोटाले शुभकामना दिँदै भने, सुनिलजीको कुरा त के गर्ने अर्जुनजीको लेखनमा भविष्य उज्वल छ ।’ आफूले निम्त्याएको प्रमुख अतिथिहरूबाट पाएको प्रतिक्रियाले अर्जुन दङ्ग थिए । 

मैले गत वर्ष देखि रचना गरेको शब्दलाई गीतको रूप दिएको हु’ अर्जुनले भने ’यसमा सबै किसिमका गीत छन्, आस छ पछिल्लो गीत झैँ यसमा पनि उतिकै माया पाउनेछु ।’ सुनिलले पनि अर्जुनको शब्द राम्रो भएकाले नै एकल कम्पोजमा एलबम गर्न सहमत भएको बताए ।’ हाम्रो प्रयासलाई पहिलो सार्वजनिक गीतले धनले होइन मनले नै प्रस्ट्याउछ’ उनले भने’ उहाँको शब्दले गीतको भावलाई व्यक्त गर्छ, यसैले हामीले सहकार्य गरेका हौ ।’ एलबम विमोचन समारोहलाई दुई लोकप्रिय सञ्चारकर्मी दिनेश डिसी र नरेश भट्टराईले होस्ट गरेका थिए भने कलाकारहरू किरण केसी, दीपा श्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा, भिडियो निर्देशक सहेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । 

यसमा पाँच गीत संग्रहित छन् जसमा धनले होइन मनले, जवानीको ऐना हजुर, परैदेखि, मन मनै त हो, तिम्रा ती झुटा बोलका गीत रहेका छन् जसलाई क्रमशः सुरज थापा, मेलिना राई, सुरेश लामा, प्रमोद खरेल र स्वरूपराज आचार्यले स्वर दिएका छन् । एलबमलाई भाइबस क्रिएसनको तर्फबाट परशुराम रिजालले बजार व्यवस्थापन गरेका छन् । 

प्रतिक्रिया