अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

मन्त्री तथा विभिन्न मुलुकका राजदूतसँगै पर्यटन क्षेत्र भन्छ भ्रमण वर्ष २०२० सफल बनाउन साना कुरालाई पनि प्राथमिकतामा राखौँ

बिआरटीनेपाल २०७५ फागुन २६ गते ९:०८ मा प्रकाशित

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठुला पूर्वाधार तथा योजनाहरूमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाहरूले बताएका छन् । सरकारका मन्त्री, कूटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरूले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रित गनु्र्र पर्ने औँल्याएका हुन् । 

पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । ट्राभल हिमालय म्यागेजिनको २० औँ वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्ययटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तीव्रता दिनु पर्नेमा जोड दिए । साथै सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि प्र्रयक्ष वैदेशिक लगानी भित्र्याउन सरकार र दातृ निकायका बिच राणनितिक छलफल गरिने मन्त्री ज्ञवालीको भनाई थियो ।

यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने बताए । भ्रमण वर्षमा लक्षित कार्यक्रमहरूले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोजगारीको अवसर र गरिबी निवारणमा टेवा पुर्‍याउने सचिव सापकोटाको भनाई थियो । यसका साथै पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजना तर्जुमा गर्नु पर्नेमा सचिव सापकोटाले जोड दिए । 

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीत सिंहले अन्तरदेशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले नेपाल भारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउँदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवर्द्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने बताए । भ्रमण वर्षलाई सफल बनाउनका लागि पूर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्व बजारमा चिनाउने अभियानको तीव्रतालाई रातदुत सिंहले जोड दिए ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्ड मान श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासमा विश्वव्यापीकरणका लागि सूचना प्रवाह गर्न विद्युतीय माध्यमका साथै फोटो, श्रव्यदृष्य सामग्रीहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रमको आयोजक ट्राभल हिमालय म्यागेजिनका सम्पादक राजाराम गिरीले नेपालको पर्यटन क्षेत्र विकासको चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र मार्फत गिरीले नेपाल पर्यटकीय गन्तव्यका लागि विश्वको उत्कृष्ट गन्तव्य भए पनि पर्यटकको आगमन छिमेकी मुलुकको तुलनामा न्यून भएको उजागर गरे । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकोमा मुलुकले ठुला पूर्वाधारको विकाससँगै साना तथा अत्यावश्यक विषयमा ध्यान दिन सरकारसँग आग्रह गरे । 

कार्यक्रममा ट्राभल हिमालय म्यागेजिनको २० औँ वर्षको १ सय ३४ औँ संस्करणको विमोचन पनि गरिएको थियो । कार्यक्रममा नेपालका लागि बङ्गलादेश, अस्ट्रेलिया, इजरायल लगायत मुलुकका राजदूतहरूको सहभागिता रहेको थियो । साथै कार्यक्रममा पर्यटन क्षेत्रसँग आबद्ध विभिन्न निकाय, अन्तर्राष्ट्रिय हवाई संस्था, व्यवसायी लगायतको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू