अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

हाइकु शिखरमा नेपाली तेन्जिङ

महेश पौड्याल २०७५ फागुन २५ गते ८:५२ मा प्रकाशित

नेपाली हाइकुको विस्तार, लोकप्रियता र गुणस्तरलाई लिएर नेपालभित्र व्यापक बहस र छलफल चलिरहेको बेला हाइकुका अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली स्वाभिमानको एक्लो तेनजिङका रूपमा उभिएका एक जना भद्र हाइ जिन देखिन्छन् । देशभित्रको होहल्लाबाट टाढा, लेखक र सिकारुहरूको कोटरीभित्रै रुमल्लिएको नेपाली हाइकुको परिवेशभन्दा पृथक् प्रकाश जापानमा बसेर सिर्जना कर्म गरिरहन्छन्, र एउटा उचाइतिर आफैँलाई उठाइरहेका छन् । विश्व हाइकु सङ्गठनमा कार्यकारी सदस्यको रूपमा भर्खरै नियुक्त भएका ती भद्र श्रष्टाले पाएको यो सम्मान कुनै पनि नेपालीले पाएको पहिलो यस स्तरको जिम्मेवारी हो, हाइकुका सन्दर्भमा । यस पदमा उनी पुगेपछि, निरन्तर निखारको बाटो अपनाइरहेको, र लेखक अश्विनी कोइरालाको भाषामा भन्ने हो भने “स्वर्ण युग” तिर लम्किरहेको नेपाली हाइकुका लागि अन्तर्राष्ट्रिय यात्राको एउटा बलियो फाटक खुलेको छ । त्यसै फाटकको नाम हो प्रकाश पौडेल माइला ।

प्रकाश पौडेलको हाइकु साधना र अन्य नेपाली हाइजिनहरूको हाइकु साधनामा केही भिन्नता छन् । पौडेल जापानमा बस्छन्, र जापानी हाइजिनहरूसँग उनको निकटको उठबस छ । उनले हाइकु जुन वातावरणमा मौलाउँछ, त्यो आवाजको अल्पता, शान्तिको निकटना, प्रकृतिसँगको सामीप्य र ध्यानको भव्य प्रभाव भएको जापानलाई भित्रैबाट स्पर्श गरेका छन् । सधैँ होहल्ला, आन्दोलन, कोलाहल, र कहरपूर्ण राजनीतिको रापमा पिसोल्लिइरहन बाध्य नेपाली सर्जकका सिर्जनामा स्वतः आउने उत्कण्ठा, विद्रोह र असन्तुष्टि उनको लेखनमा छैन । हाइकुले उद्भवकालदेखि नै यस विधाभित्र अपेक्षा गरिने शान्ति, शब्द र आवाजको मितव्ययिता, आत्मिक खुसी, तथा मान्छे र प्रकृतिको अन्तरक्रिया र प्रेमालापको सुविधा नेपाली हाइकुकारहरूसँग आजको सन्दर्भमा खासै छैन । हाम्रा अखबारका हेडलाइनले बिहानैपिच्छे राजनीतिक व्यथिति, भ्रष्टाचार, बलात्कार, महँगी, प्रदूषण, मृत्यु, ढिलासुस्ती र अवैतनिक खबर सुनाइरहँदा नेपाली सर्जकलाई यी तिता यथार्थबाट आफूलाई पृथक् राखेर साहित्य सिर्जना गर्ने सुविधा पनि त छैन ! कवि जोन किट्सका शब्दमा भन्ने हो भने तयो “निगेटिभ केपेबिलिटी” त्यति सहज छैन ।

त्यसैले, हाइकु लेखनमा सङ्ख्यात्मक रूपमा धेरै विकास भएको, र संस्थाहरूले पनि यसलाई प्रवर्द्धन गर्ने कोसिस गरिरहेको बेला, हाइकुले अझै पनि आफूलाई असली हाइकुको अन्तर्राष्ट्रिय आकाशमा उद्घाटित र परिचित गराउन सकेको देखिँदैन । यो क्षमता भएका अग्रज बिस्तारै नेपथ्यतिर, अथवा अन्य विधातिर लागेको देखिन्छ भने, नयाँ पुस्तामा साधना कम र उत्पादन बढी भएको देखिन्छ । नेपाली पाठकहरूकै रोजाइमा पनि हाइकु पुग्न, र पुस्तक पसलहरूमा आकर्षणको विधा बन्न सकिरहेको छैन । अधिकांश हाइजिनहरू प्रयोगका लागि, विदेशी विधासँग आफूलाई परिचित गराउनका लागि अथवा नेपालबाहिर, विशेष गरी जापानमा हुने हाइकु सम्मेलनहरूमा सहभागिताका लागि आफूलाई वैध सिद्ध गर्नका लागि हाइकु लेखनमा लागिरहेको देखिन्छ ।

यी सबै तिगडम र होहल्लाबाट पृथक् छन् प्रकाश पौडेल । हुन त उनी संयोजकारी भूमिका र साङ्गठनिक नेतृत्वमा पनि नदेखिने होइनन्, तर पनि उनले आफ्नो लेखनको स्तरलाई क्रमशः उत्कर्षतिरै लाँदै गरेको देखिन्छ ।

भरतपुर चितवनमा मूल घर भएका प्रकाश सानै उमेरदेखि सभासमारोहमा आफूलाई उद्घाटित गर्न निर्भीक थिए । कार्यक्रमहरूमा जाने र साहित्यकारहरूसँग चिनजान गर्ने उनको युवाकालदेखिकै स्वभाव हो । कविता, हाजिरी जवाफ तथा वक्तृत्व प्रतियोगिताहरूमा पुरस्कृत हुँदै हौसला बटुल्दै गर्थे प्रकाश । परिवार श्रोत भन्छ, उनी पढाइमा पनि तेज थिए, र कक्षामा पहिलो वा दोस्रो भइरहन्थे । आफूभित्रको क्षमताबाट आफैँ परिचित हुँदै गएपछि आफूलाई प्रकाशित गर्ने, र पत्रपत्रिकाबाट पाठकहरूको बृहत्तर संसारमा पुग्ने रहन पलाउँदै गयो ।

२०५४ सालमा प्रमाणपत्र तह परीक्षा पास गरेपछि प्रकाश काठमाडौँ आए । कविता र गजलबाट आफूलाई खोज्दै आएका प्रकाश काठमाडौँमा पुस्तक पढ्नतिर बढी केन्द्रित हुन थाले । यसै क्रममा हो उनले माधवलाल कर्माचार्यद्वारा सम्पादित पुस्तक “जापानी हाइकु, हिजो र आज” भेटेका । पुस्तकमा सङ्कलित हाइकुले उनकै शब्दमा भन्दा उनको मन छोयो । उनले त्यो बेला सोचेछन्, “गजल लेख्नेको भीडमा हराउनुभन्दा हाइकु लेखेर केही फरक काम गर्नु ठिक ।” भन्छन्, “र नै हाइकुको खोजी अनुसन्धान र लेखनमै समय व्यतीत गर्न थालेँ ।”

यसपछि प्रकाश बहाइकुकै होमिए । चितवनका मात्रै होइन, देशभरिका पत्रपत्रिकामा हाइकु पठाउन थाले । ती प्रकाशित पनि हुन थाले । लेख्दै जम्मा गर्दै जाँदा हाइकुको सञ्चयन नै तयार भयो, र निस्कियो उनको पहिलो किताब पर्दाफास । लेखनका साथै अनुसन्धानमा पनि सक्रिय उनले मधुपर्कको २०६२ पौषको अङ्कमा एउटा ६ पृष्ठ लामो आलेख नै प्रकाशित गरे । अब प्रकाश पौडेल माइलालाई हाइकु क्षेत्रमा परिचयको कुनै पनि सङ्कट रहेन । तर पनि हाइकुको उद्भव भूमि जापानको सपनाले भने उनको मन ज्याद्रोसँग सङ्क्रमित भयो । हातमा कुनै उपाय भने तत्काल भेटेनन् ।

यसैबिच, उनीमाथि लोकसेवाको पनि भूत सवार भयो । स्नातक तहमा अध्ययन गर्दागर्दै उनी लोकसेवाको तयारीमा लागे । उत्तीर्ण हुने कुरा एकातिर थियो, तर तयारीकै क्रममा उनले लोकसेवाका चार तहका तयारी पुस्तक लेखे, जसको विक्रीबाट दैनन्दिीमात्रै चलेन, जापान छिर्ने खर्चको तर्जुमा पनि भयो ।

यी तमाम व्यस्तताका बिच प्रकाश माइलाको अर्को पाटो थियो राजधानीमा हुने गरेका साहित्यिक समारोहहरूमा भ्याएसम्म पुग्ने । आफू पनि लेखकको रूपमा परिचित हुँदै जाँदा रेडियोहरूमा अन्तरवार्ता पनि छापिन थाले ।

यसै क्रममा हो उनले आफ्नो प्रथम हाइकुसङ्ग्रहको प्रकाशनको तयारी सुरु गरेको । सङ्ग्रह तयार भएपछि यसको भूमिका कसलाई लेखाउने भन्ने क्रममा उनलाई रामकुमार पाँडेलाई भेट्ने सल्लाह दिइयो । उनले त्यसै गरे । पाँडेले भूमिका मात्रै लेखेनन्, उनीसँग एउटा जीवन्त मित्रता पनि स्थापित गरे । भेट्ने र छलफल गर्ने क्रम सुरु भयो, जुन आजपर्यन्त जारी छ । त्यसको ज्वलन्त उदाहरण त २०७५ मा प्रकाशित दुई श्रष्टाको संयुक्त कृति “हजार हाइकु” हो, जसमा उनीहरूका पाँच पाँच सय हाइकु प्रकाशित छन् ।

यसैबिच, उनी हाइकुबारे कार्यक्रम गर्दै आइरहेको संस्था नेपाल निप्पन रिसर्च सेन्टरमा आबद्ध भए । राष्ट्रिय महोत्सव पनि मिलेर आयोजना गरियो । नेपाली हाइकु पत्रिकाको सम्पादन गर्ने अवसर पनि प्रकाशले पाए । हाइकुको क्षेत्रमा काम गर्ने झनै ऊर्जा थपिँदै गयो । पछि नेपाली हाइकु केन्द्र गठन भयो । उनी यस संस्थाका संस्थापक महासचिव भए ।

हाइकु लेख्दै जाँदा हाइकुको जन्मभूमि जापानबारे थुप्रै जिज्ञासा मनमा आए । जापानी भाषा सिकेर जापानी भाषामै हाइकु लेख्न पनि मन लाग्यो । यतिले मात्रै मन सन्तुष्ट नभएर उनी जापान जाने बाटो पनि खोज्न थाले । विद्यार्थी भिसाबाट जाने बाटो फेला प¥यो, र सोही सहाराले उनी जापान पुगे ।

हालसम्म उनले लेखेका वा सम्पादन गरेका कृतिको सङ्ख्या दर्जन नाघिसकेको छ । देशविदेशमा गरी आधा दर्जनभन्दा बढी प्राज्ञिक कार्यपत्र पनि प्रस्तुत गरिसकेका छन् उनले । चैत्र २०६२ मा जापान छिरेपछि भने उनको सङ्गत जापानी हाइजिनहरूसँगै बढेको छ । हाइकुको पठन र स्वभावसँगै दीक्षित जापानी पाठकहरूकै बिच पनि उनी लोकप्रिय छन् । लेखकहरूका बिच त उनी सबैका प्यारा छन् । हाल पाँच वटा रेष्टाँका सञ्चालक प्रकाश वर्तमानमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष, नेपाल हाइकु केन्द्रका विदेश विभाग संयोजक तथा विश्व हाइकु समाजका कार्यकारी सदस्य पनि छन् ।

के छ प्रकाश पौडेल माइलाका हाइकुमा? उनको भर्खरै प्रकाशित कृति हजार हाइकुको आधा हिस्सेदारी उनको हो, जसमा उनका ५०० हाइकु प्रकाशित छन् । यसअघि पर्दाफास, अन्ध गल्छी र हाइकुमाला प्रकाशित छन् । उनीबाट आएको पछिल्लो कृति हजार हाइकु नै भएका कारण, र यसमा उनका रोज्जा हाइकु समाविष्ट भएका कारण पनि उनका हाइकुको चरित्र विश्लेषण गर्नका लागि यसै कृतिलाई आधार मान्न सकिन्छ ।

संरचनामा प्रकाशका हाइकुमा कतै पनि विचलन छैन । प्रकृतिका बिम्बको अनिवार्यतालाई खकुल्याउँदै सेन्र्यु लेखेर अल्मल्याउने काम उनले गरेका छैनन् । बाहिरीभन्दा पनि मान्छेको भित्री यथार्थको चित्रणमा उनका हाइकु बढी केन्द्रित छन्, र मान्छेको आत्मिक सुख अथवा त्यस मार्गमा देखा पर्ने मनोवैज्ञानिक व्यवधानमा उनका हाइकुको बढी जोड छ । उनका हाइकुहरूले प्रतीकात्मक शैलीमा आदर्शवादको विरोध गर्छन् र मान्छेलाई प्रकृतिबाट विनम्रताको पाठ सिक्न अभिप्रेरित गर्छन् । उमेरसँगै आउने प्रलापहरू, प्रवाहमान समय र जवानीका उछ्वासहरू, दिवास्वप्न, खातमाथि खात खप्टिँदै आएका समस्या, पर्खन अभिशप्त मान्छेको आस्तित्विक बाध्यता आदि गहन र भित्री विषय उनका रोजाइका विषयहरू हुन् ।

अङ्ग्रेजीमा प्याथेटिक फ्यालेसी भनिने, मानवीय पीडालाई प्रकृतिमा आरोपित गर्ने शैली उनले पनि अपनाएका छन्, तर त्यसमा मान्छे र प्रकृतिको भावनान्तम ऐक्यको पूर्वीय दार्शनिक जग परि लक्षित हुन्छ । पारम्परिक प्रकृति लेखकहरूले गर्ने गरेको मानवकेन्द्री सौन्दर्य अथवा सन्नाटाको परिभाषामा उनको सहमति छैन । उनी यी मानवीय कोणहरूको विनिर्माणमा विश्वास राख्छन्, र चेतनाको फिल्टरले मान्छेका स्वार्थपूर्ण अभीष्टहरूको छाप प्रकृतिको निश्छलताबाट हटाउनुपर्ने कुराका हिमायती लाग्छन् ।

एक्लै जिउनको निरर्थकता, सूक्ष्म अवयवहरूको हाम्रो जीवनमा उपादेयता, प्राकृतिक चक्र विपरीत गरिने गतिविधिको प्रतित्युत्पादक असरको चित्रण तथा मान्छे र प्रकृतिबिचको संवेदनशील सन्तुलनको वकालत उनका हाइकुका केही प्रमुख दलिल हुन् । उनको चीरकालीन विश्वास छः मानव जीवनमा शान्तिको श्रोत आत्मिक सन्तोष हो, र त्यो प्रकृतिसँगको सम्यक एकाकारले मात्रै सम्भव छ । उनका हाइकु बाहिरी दृश्य, रङ्गिन संसार, सतही भावनात्मकता, मायाप्रेम र प्रदर्शनमा विश्वास गर्दैनन् । समयसँगै आएका विसङ्गति र विचलनमाथि टिप्पणी गरिरहन पनि उनी खासै तत्पर देखिँदैनन् । विसंगत समयप्रतिको उनको उदासीनता अथवा बेवास्ता पनि आफैँमा एउटा टिप्पणी हो सायद । उनी यस समयलाई ध्यानको काबिल पनि मान्दैनन् ।

बरु मान्छेको जीवनका सङ्गतिलाई फर्काउन सक्ने उपाय के हुन्, त्यसको खोजीमा उनी लागेको देखिन्छ । यसो गरिरहँदा उनले मान्छेका आदि भौतिक, मनोवैज्ञानिक र भावनात्मक कमजोरीलाई आफ्ना हाइकुमा बिम्बात्मक शैलीमा उनेका छन् । यो भित्री यात्रा, अर्थात्, मनोविज्ञानको यात्रा, र त्यसको सम्यक व्यवस्थापनका लागि सही मार्गको खोजी उनका हाइकुको मूल खोजी हो । यहीँनेर उनी चलनचल्तीका नेपाली हाइजिनको लेखनबाट पृथक् छन्, र जेन, बौद्ध र ताओनिकट निन्तनको नजिक पनि छन् । कतै पनि आक्रोशको विरेचन, असन्तुष्टिको विस्फोट, क्रान्तिको हुङ्कार, सस्तो निर्णायत्मकता, विद्रोह आदि जस्ता कुरा उनको हाइकोमा पढ्न पाइँदैन । खासमा, यस्ता विषयवस्तु हाइकुको प्रकृतिसँग मेल खाँदैनन् पनि ।

हाइकु आन्तरिक यात्राकै अभिव्यक्ति हो, र आफैँसँगको साक्षात्कार हो । त्यसैको सुन्दर र सम्यक अभ्यास गरिरहेका प्रकाश पाडेल माइला नेपाली हाइकुको अन्तर्राष्ट्रिय अनुहार हुन् । उनको अभिव्यक्तिको गहिराइ र दार्शनिक उत्कर्ष बुझ्न एउटै हाइकु काफी छः

मनको बत्ती
तेल थप्दै कुरेर
बिहानी भयो ।

साभार – समालोचक डटकम

प्रतिक्रिया