अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

नेकपा र सरकार मधेशका पक्षमा– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ फागुन २५ गते ८:२८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा र आफ्नो नेतृत्वको सरकार मधेशको पक्षमा रहेको बताउनुभएको छ । वर्तमान सरकारले मधेसमा सबैभन्दा बढी बजेट विनियोजन गरेको भन्दै प्रधानमन्त्री ओलीले तराई मधेसको पक्षमा सरकारले काम गरेको बताउनुभयो ।

राजतन्त्रविरोधी, पञ्चायतविरोधी र विभाजित कम्युनिष्ट पार्टीको एकताको अभियान चलाउँदै आफू रौतहट जिल्लामा भूमिगत बसेको उहाँले स्मरण गर्नुभयो । कम्युनिष्ट पार्टी मधेश विरोधी नभएको भन्दै प्रधानमन्त्री ओलीले आफू राजतन्त्रको बिरुद्ध र लोकतन्त्रको पक्षमा आन्दोलनमा रहेका बेला रौतहटबाटै गिरफ्तारीमा परेको उल्लेख गर्नुभयो ।

एउटा महान आन्दोलन र अभियान पश्चात राजतन्त्र फालेर संघीयता सहितको लोकतान्त्रिक गणतन्त्र स्थापनाका साथै संविधानसभा मार्फत् जनताको संविधान बनाएको प्रधानमन्त्रीको भनाई थियो । यसअघि राजनीतिक अस्थिरताका कारण सत्ता परिवर्तन भइरहने अवस्थाले विकास निर्माण हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्वकै लागि जनताले नेपाल कम्युनिष्ट पार्टीलाई बहुमत दिएको उल्लेख गनुभयो ।

कृषिमा आधुनिकीकरण, स्वास्थ्य विमा कार्यक्रम, सडक पूर्वाधार निर्माण लगायतका विकासका काम भइरहेको प्रधानमन्त्रीको भनाई रहेको थियो । बालबालिकाको शिक्षाको लागि विद्यालय भर्ना अभियान सफलताको साथ बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले छोराछोरीलाई विद्यालय पठाएर सरकारको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।

तराई मधेसको समस्या आफूलाई अवगत रहेको भन्दै प्रधानमन्त्रीले बाढी, नदि कटानको समस्या समाधानका लागि सहयोग गर्ने बताउनुभयो । भारतले सिमाक्षेत्रमा बाँध बाधेका कारण नेपालको भूमि डुवानमा परेको समस्याका बारेमा आफूले भारतीय प्रधानमन्त्रीसँग गम्भीर ढंगले कुरा गरेको पनि प्रधानमन्त्रीले बताउनुभयो ।  प्रधानमन्त्री ओलीले पूर्वपश्चिम राजमार्गको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने, पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माण, फास्ट ट्रयाक, सिचाईं व्यवस्था गर्ने तथा भारतको जयनगरदेखि नेपालको जयनगर बर्दिबास रेलमार्ग निर्माण भइसकेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू