अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०२ | Colorodo: 08:17

‘भाग्यले बाँचेकाहरू’लाई अमेरिकाबाट सहयोग

बिआरटीनेपाल २०७५ फागुन २४ गते १०:१४ मा प्रकाशित

काठमाडौँ, चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’का दुई पात्रलाई थप आर्थिक सहयोग प्रदान गरिएको छ । बिहीबार काठमाडौँमा ‘भाग्यले बाँचेकाहरू’का निर्देशक गणेश पाण्डेले निमात्री शारदा गैरेको उपस्थितिमा अर्घाखाँचीका ऋषि खनाल र मकवानपुरकी प्रिया विश्वकर्मालाई नगद रकम हस्तान्तरण गरेका हुन् ।

लम्जुङ समाज अमेरिकाका अध्यक्ष शशी थापा र उनकी पत्नी अप्सरा कुँवरले ऋषिको छोराको शिक्षामा सहयोग पुगोस् भनेर प्रदान गरेको २ सय अमेरिकी डलर (२२ हजार ४ सय नेपाली रुपैयाँ) हस्तान्तरण गरिएको हो । यस्तै, युनाइटेड शेर्पा एशोशियन तथा यूएस–नेपाल अनलाइन अमेरिकाबाट विष्णुमाया परियार र प्रदीप परियार थापाले प्रियाका लागि पठाएको १५१ अमेरिकी डलर (१७ हजार नेपाली रुपैयाँ) हस्तान्तरण गरिएको छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पमा परि यी दुवैले एक÷एक वटा खुट्टा गुमाएका छन् । पीडितमध्ये खनालले ‘भाग्यले बाँचेकाहरू’ बने यता विभिन्न क्षेत्रका सहयोगीहरूबाट १२ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् । ०७२ सालको भूकम्पमा परि चमत्कारिक रूपमा बाँच्न सफल भएकाहरूको घटनामा आधारित चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’ विश्वका १३ वटा भाषामा अनुवाद भइसकेको छ ।

फिल्म विश्वका ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको छ भने १७ वटा अवार्ड जित्न सफल भएको छ । ‘भाग्यले बाँचेकाहरू’ बेलायतको संसद्मा प्रदर्शन भएको पहिलो नेपाली डकुमेन्ट्री फिल्म हो । यसलाई केही महिना अघि अमेरिकाको न्यु जर्सी राज्यले समेत सम्मान गरिसकेको छ ।

निर्देशक पाण्डेका अनुसार फिल्मका पात्र र उनका आश्रित परिवारका लागि आर्थिक र अन्य किसिमको सहयोग निरन्तर रूपमा हुँदै आएको छ । भूकम्पले लोकप्रियता हासिल गरेर विश्वमै चर्चित भए पनि खासगरि आउँदो पुस्तालाई भूकम्पीय शिक्षा दिन र भूकम्पमा परि बाँचेकाहरूको जीवनयापन सहजताका लागि डकुमेन्ट्री फिल्म बनाएको निर्देशक पाण्डेले बताए ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू