अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१० | Colorodo: 09:25

डा. विष्णुमाया परियारलाई अमेरिकामा ‘वुमन एक्सन अवार्ड’

बिआरटीनेपाल २०७५ फागुन २३ गते ९:०१ मा प्रकाशित

समाजसेवी डा. विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड (महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको छ । जर्सी सिटी मेयरका सल्लाहकार डा. परियारले उक्त शहरमा अल्पसङ्ख्यक समुदायका लागि निरन्तर सक्रिय र सबल नेतृत्व प्रदान गर्दै उल्लेखनीय सामाजिक कार्य गरेको कदरस्वरूप उक्त पुरस्कारद्वारा सम्मान गरिएको यूएस नेपाल अनलाइनका प्रधानसम्पादक प्रदीप परियारले जानकारी दिनुभयो ।

डा. परियारको नेतृत्वमा सन् २०१५ र २०१८ मा अमेरिकामा रहेका नेपालीका लागि जर्सी सिटी काउन्सिलवाच टिपिएस रिजोलुसन पारित भएको थियो । सन् २०१७ जुन ३० मा नेपाल र नेपालीको सम्मानका लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा अमेरिकी भूमि सिटी हलमा पहिलो पटक नेपाली ऐतिहासिक झण्डोत्तोलन सम्पन्न गराउन उहाँ सफल हुनुभएको थियो ।

सिटी हल भवनभित्र नेपालको झण्डा फहराउने जर्सी सिटी पहिलो अमेरिकी शहर हो र विश्वमै सम्भवतः पहिलो घटना हो । त्यसैगरी जर्सी सिटी मेयर स्टेभन फुलपका सल्लाहकार तथा दुई शहरबीचको इमिसरी (विशेष दूत) का रूपमा नियुक्त गोरखाकी डा परियारको पहल र नेतृत्वमा यसै वर्ष सन् २०१९ जनवरी २४ मा अमेरिकाको जर्सी सिटी शहर र नेपालको इन्द्रावती गाउँपालिकाबीच भगिनी शहर बनाउने सफलता मिलेको थियो ।

दुई शहर र गाउँपालिकाबीच हुने औपचारिक रूपमा सिस्टर सिटी बनाउन उहाँकै पहल र काउन्सिल प्रेसिडेण्ट रोलान्डो लाभारोको अगुवाइमा जर्सी सिटी काउन्सिलद्वारा गत डिसेम्वर १९ मा ऐतिहासिक काउन्सिल रिजोलुसन पारित गरिएको डा.परियारले जानकारी दिनुभयो । अन्य मुलुकको शहरसँग सिस्टर सिटी बन्ने इन्द्रावती विश्वमै नेपालको पहिलो गाउँपालिका हो । विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित भइसक्नुभएका डा. परियारका नाममा अमेरिकाको केन्टकी राज्यको लुइभिल शहरले सन् २०१५ सेप्टेम्वर २७ लाई ‘डा.विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको छ ।

विश्वभरका १५५ भन्दा बढी देशका न्यूयोर्कमा स्थापित वाणिज्यदूतावासको सङ्गठन ‘सोसाइटी अफ फरेन कनुल्स इन न्यूयोर्क’ ले विश्व नारी दिवस २०१८ का अवसरमा सत्र देशका नारीसंँगै डा. परियारलाई सम्मान गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू