अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

उत्तर कोरियामा खाद्य उत्पादन दशक यताकै न्यून

बिआरटीनेपाल २०७५ फागुन २२ गते ९:१५ मा प्रकाशित

संयुक्तराष्ट्र सङ्घले उत्तर कोरियामा गत वर्ष खाद्य उत्पादनमा दशककै सबैभन्दा न्यून भएको जनाएको छ । प्राकृतिक प्रकोपका साथै खेतीयोग्य जमिनको अभाव तथा परम्परागत कृषिका कारण खाद्य उत्पादनमा व्यापक कमी आएको हो । अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण आर्थिक रुपमा कमजोर बनेको उत्तर कोरियामा बर्सेनी चरम खाद्य सङ्कट हुने गरेको छ । राष्ट्रसङ्घका अनुसार गत वर्ष कोरियामा ४९ लाख ५० हजार टन खाद्यान्न मात्र उत्पादन भएको थियो । सन् २०१९ का लागि आवश्यक खाद्यान्नमध्ये अझै पाँच लाख टन अपुग हुनेछ ।

एक दशकमै यो सबैभन्दा न्यून उत्पादन हो, राष्ट्रसङ्घका आवासीय संयोजक तापन मिश्रले बताउनुभयो । “यसबाट खाद्यान्न आवश्यकतामा ठूलो अन्तर देखा परेको छ ।” यसको परिणामस्वरुप उत्तर कोरियाका झण्डै एक करोड नागरिकलाई मानवीय सहायता आवश्यक परेको छ । गत वर्षभन्दा यस वर्ष ६ लाख बढी मानिसलाई मानवीय सहायता जरुरी हुनेछ । तत्काल सहयोग प्राप्त नभएमा कुपोषण र रोगको खतरा देखा पर्ने राष्ट्रसङ्घको भनाई छ । खाद्यान्न अभाव व्यहोर्ने यो कूल जनसंख्याको झण्डै ४३ प्रतिशत हो । राष्ट्रसङ्घीय सहयोग पनि अपर्याप्त देखिएको छ ।

मिश्रले गत वर्ष आग्रह गरिएको सहयोगमध्ये २४ प्रतिशत मात्र प्राप्त भएको जानकारी दिनुभयो । उहाँले मानवीय सहायताका कार्यहरुमा राजनीतिक पक्षलाई बेवास्ता गर्न दाताहरुलाई आग्रह गर्नुभएको छ । कमजोर आर्थिक स्थिति रहेको उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय समुदायले सैनिक एवं आणविक हतियारका कार्यक्रममा मात्र केन्द्रित नहुन आग्रह गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हनोई शिखर वार्ता हुनुअघि पटकपटक आणविक कार्यक्रम रोके उत्तर कोरिया आर्थिक केन्द्र बन्न सक्ने बताउँदै आउनुभएको थियो । तर उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको हनोई वार्ता भङ्ग भएसँगै उत्तर कोरियाका बारेमा अन्यौल देखिएको छ ।

केही अमेरिकी अनुसन्धान संस्थाहरुले उत्तर कोरियाले पुनः आणविक र क्षेप्यास्त्र कार्यक्रम शुरु गर्न लागेको दाबी गरेका छन् । अन्तरिक्षबाट खिचिएका तस्वीरहरुको विश्लेषण गर्दै उनीहरुले क्षेप्यास्त्र परीक्षण केन्द्रमा मानिसहरुको आउजाउ बढ्न थालेको बताएका छन् । उत्तर कोरियाको अधिकांश भूभाग हिमाली र विकट पहाडी छ । यहाँ करिब २० प्रतिशत भूभागमा मात्र खेतीबाली हुन्छ ।
उत्तर कोरियामा गत जुलाई र अगष्ट महिनामा तीव्र तातो हावा चलेको थियो । त्यसलगत्तै ठूलो वर्षा र बाढी आएको थियो । राष्ट्रसङ्घका अनुसार, मौसमी प्रतिकूलताका कारण धान र गहुँको उत्पादनमा १२ देखि १४ प्रतिशतले कमी आएको छ । साथै, उत्तर कोरियाको सोयाबिन उत्पादन ३९ प्रतिशत र आलुको उत्पादन ३४ प्रतिशतले घटेको छ । गत महिना प्योङयाङले यस वर्ष १४ लाख टन खाद्यान्न कमी हुने राष्ट्रसङ्घलाई जानकारी गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू