अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

छाउपडि प्रथा अन्त्यको लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बिआरटीनेपाल २०७५ फागुन २२ गते ८:५४ मा प्रकाशित

छाउपडी प्रथा अन्त्यका लागि प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद विन्दा पाण्डेले छाउपडी प्रथाको अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित अन्धविश्वासमा आधारित छाउपडी प्रथाका कारण सुत्केरी तथा महिनावारी भएका महिलाहरुले अपमान र अमानवीय व्यवहार सहँदै आउनुपरेको सांसद पाण्डेले बताउनुभयो । यस्तो रुढिवादी प्रथाको अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान सञ्चालन गरी कानुन कार्यान्वयनमा जोड दिनुपर्ने भएकाले यो प्रस्ताव ल्याएको सांसद पाण्डेले बताउनुभयो ।

मे २८ मा मर्यादित महिनावारी दिवस मनाउने विषयमा पनि सोच्नुपर्ने उहाँको भनाइ छ । उहाँको प्रस्ताबमा समर्थन गर्दै सांसद रंगमती शाहीले आफू पनि ८, १० बर्ष छाउ गोठमा बसेर आएको अनुभव सुनाउदै यो कुसंस्कारलाई अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।

यस्तै सांसद नरबहादुर धामीले साविकको महाकाली अञ्चलमा छाउ प्रथा अझै व्यापक रहेको भन्दै कानुन प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद लालबहादुर थापाले विज्ञान र प्रविधिको २१ औं शताब्दिमा पनि नेपाली समाजमा यो वा त्यो नाममा महिलाहरु पीडित भइरहेको भन्दै अन्धविश्वास, कुप्रथा र कुसंस्कारबाट समाजलाई मुक्त नगरेसम्म मर्यादित राज्यको कल्पना गर्न नसकिने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू