अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

भियतनामका राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा समितिका प्रतिनिधि मण्डलको उच्च स्तरीय भेटघाट सम्पन्न

बिआरटीनेपाल २०७५ फागुन २१ गते २०:४२ मा प्रकाशित

समाजवादी गणतन्त्र भियतनामका राष्ट्रिय प्रतिरक्षा तथा सुरक्षा समितिका सभापति एवं लेफ्टिनेन्ट जनरल भो ट्रोंग भिएत को नेतृत्वमा आएको नौ सदसीय प्रतिनिधि मण्डलले आज काठमाडौँमा उच्च स्तरीय भेटघाट सम्पन्न गरेको छ । भिएतनामका लागि अवैतानिक बाणिज्यदुत श्री राजेश काजी श्रेष्ठको पनि सहभागिता रहेको उक्त भेटघाटको क्रममा सङ्घीय सांसदका सभामुख कृष्ण बहादुर महराले दुई–देशको संसदीय मामला सम्बन्धमा सहकार्य गर्न सकिने कुरा उल्लेख गर्नुभयो । सभामुख महराको कार्यकक्षमा भएको सो भेटमा उहाँले दुई–देशको सांसदका सबल पक्षहरूबाट एक–अर्का देशले सिक्न सकिने र प्रतिनिधि मण्डल आदान–प्रदानलाई अगाडी बढाउन सकिने कुरा उल्लेख गर्नुभयो ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठसँग भएको भेटमा उहाँ ले भिएतनामको प्रतिनिधि मण्डललाई भेटेर आफू प्रसन्न रहेको बताउनुभयो । दुई–पक्षीय छलफलबाट भिएतनामको राज्य–व्यवस्था लगायत सुरक्षा मामला सम्बन्धी आफू अपडेट हुन पाएको कुरा उहाँले बताउनुभयो । 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासंग भएको एक अर्को भेटमा अध्यक्ष तिमिल्सिनाले भियतनामको शासकीय पद्धति तथा संसद्को व्यवस्था र नेपालको सङ्घीय व्यवस्थाबाट एक–अर्का देशले सिक्न सक्ने कुरा उल्लेख गर्नुभयो । महाशक्तिसँगको युद्धबाट अघि बढेर भियतनामले अर्थतन्त्र, विकास र सुरक्षाको क्षेत्रमा हासिल गरेको प्रगति प्रशंसनीय रहेको कुरा समेत तिमिल्सिनाले बताउनुभयो ।

त्यस्तै, गृहमन्त्री राम बहादुर थापाले उक्त प्रतिनिशी मण्डलसँग कुरा गर्दै नेपालमा भिएतनामबाट लगानी वृद्धि हुने आशा व्यक्त गर्नु भयो । दुई देशको सुरक्षा चासोमा अध्ययन–अनुसन्धान गर्न सकिने कुरा समेत उहाँले उल्लेख गर्नुभयो । मन्त्री थापा लगायत त्यस अघि भएका सबै भेटहरूमा नेपाल बुद्ध भूमि भएकोले धार्मिक पर्यटन प्रवर्धनको माध्यमबाट नेपालको अर्थतन्त्र मजबुत पार्न सकिने धारणा सबैले व्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू