अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 13:00

नागा बाबाहरू देख्दा म पनि लाजले भुतुक्क

रामप्रसाद खनाल २०७५ फागुन १९ गते १२:०१ मा प्रकाशित

एक दिन श्रीमती छोड्न नसक्ने श्रीमानहरू र एक दिन श्रीमान् छोड्न नसक्ने श्रीमतीहरू, सँसारिक माया, मोह, स्वार्थ, तेरो मेरो भन्न, आफू आफूमै लड्न भिड्न तयार हामी जस्ताहरूको बसको कुरा रहेनछ नागा बाबा, नागा आमा बन्ने कुरा !!

नागा बाबाहरू देख्दा म पनि लाजले भुतुक्क हुन्थेँ । सोच्दथे धर्मका नाम मा यो अति नै विकृति भयो । यस्तो पनि हुन्छ ? पशुपतिनाथमा मात्र होइन नेपाल भर नागा बाबाहरूलाई प्रवेश निषेध गर्दै यो विकृति हटाउन पशुपति क्षेत्र विकास कोस र नेपालको सरकारी स्तर बाटै कडा कदम उठाउनुपर्ने माग राख्दै लेख्ने बोल्ने मै हुँ ।

केही वर्ष अघि सम्म मैले नागा बाबाहरूको विषयमा सधैँ नकारात्मक टिप्पणी गर्दथेँ । महाशिवरात्रीका बेला मेरो परम मित्र भुप नारायण घर्तिमगरले मेरा नागा बाबा विरोधी स्टाटस र समाचार अनि बिचार देखे पछि नागा बाबाको विषयमा अध्ययन गर्न सल्लाह दिँदै आफूलाई जानकारी भएका कुरा मसँग शेयर गर्नुभयो, म झसङ्गै भएँ । मैले मन मनै सोचेँ कतै मैले गल्ती त गरिरहेको छैन ? त्यस पछि त्यस सम्बन्धमा अध्ययन सुरु गरेँ । पहिला नागा बाबाहरूको नाङ्गो पनले भुतुक्क हुने म अब भने मेरो अल्प ज्ञान लाई देखेर लाजले भुतुक्क हुन थालेँ । नागा बाबाहरू प्रति मेरो श्रद्धा अध्ययन पछि आकासियो । मलाई थाहा छ मैले यसो भन्दा यहाँ मलाई शाब्दिक आकर्मण हुन सक्छ म फेस गर्न तयार छु । म अहिले नागा बाबाहरूको कठोर त्याग, तपस्या र उनीहरूले धर्मका लागि गरेको बलिदान प्रति नतमस्तक मात्र छु । 

नागा बाबाहरूको नबुझेर अनजान मा विरोध गर्नेहरूलाई म यस बारेमा अध्ययन गर्न विनम्र अनुरोध गर्दछु । अहिले त जे चाहियो गुगल गर्नुस् भेट्न सकिन्छ । मेरो सल्लाह नेपालीमा नागा बाबा वा अङ्रेजीमा वा हिन्दी भाषामा गएर खोज्नुस् तपाईँले सबै भेट्टाउनुहुनेछ । नागा बाबाहरूका बारेमा केही जानकारी र तस्बिरहरू मैले विभिन्न मिडियाहरूबाट समेत लिएर तल प्रस्तुत गरेको छु ।

* नागा बाबा बन्न र नागा बाबा भन्न ६ वर्ष देखी १२ वर्ष सम्म त्याग तपस्या गर्नुपर्ने रहेछ ।
* नागा बाबा बन्न घर गृहस्थी, लोभ लालच सब कुरा त्याग्न सक्नुपर्ने रहेछ ।
* संसारमै कडा र गाह्रो मानिने सेना प्रहरीको जस्तो अत्यन्त कठिन र लामो तालिम पुरा गरेर मात्र नागा बाबा बन्न सकिँदो रहेछ ।
* माछा मासु देखी धेरै खाले खाद्यान्न मा बन्देज रहेछ नागा बाबाहरूलाई ।
* युद्ध कला कौशल हरकुरामा पोख्त हुनुपर्ने रहेछ ।
* यी र यस्ता धेरै कुराहरू, मापदन्डहरु पुरा गरेर सँसारिक माया मोह मनोरञ्जन सब कुरा त्यागेर बनेका नागा बाबाहरू मात्र होइन नागा आमाहरू पनि हुँदा रहेछन् जो सबै थोक छोडेर धर्मका लागि बान्छेका हुँदा रहेछन् ।

यस्ता तपस्वी नागा बाबाहरू र नागा आमाहरूका विषयमा मैले बोल्ने टिप्पणी गर्ने कुनै हैसियत राख्दिन । तर एउटा मेरो भन्नु के छ भने नागा बाबा आमा हरूले कमसेकम गुप्ताङ्ग हरू सम्म ढाक्ने चाहिँ व्यवस्था गर्नै पर्छ । खुल्ला सोभनिय हुँदै हुँदैन ।

शिवरात्रीको बेलामा विशेष चर्चामा आउने नाङ्गा बाबालाई हेर्नकै लागि भए पनि युवाहरूको जमात पशुपति तिर जानु आवश्यक ठान्छ । नाङ्गा बाबासँगै बसेर गाँजा तान्नु र अझ भनौ नांगाबाबासँग सेल्फिमा रमाउनु शिवरात्रीको विशेषता बनेको छ पछिल्लो समय । हरेक शिबरात्रीको बेला हुलका हुल नागा नेपाल भित्रने गरेका छन् र शिवरात्री सकिएको भोलिपल्टदेखि नै बिदा हुन थाल्छन् ती बाबाहरू । हरेक शिबरात्रीलाइ विशेष बनाउन नेपाल आउने गरेका ती नाङ्गा बाबा को हुन, कसरी उनीहरूको उत्पत्ति भयो, शिबरात्री सकिएपछि उनीहरू कहाँ जान्छन् सबैको कौतुहलताको विषय हो । नाङ्गा बाबाको बारेमा केही रहस्योद्घाटन गर्ने प्रयास गरिएको छ । नाङ्गा शब्द धेरै पुरानो हो ।

भारतमा नाग वंश र नागा जातिको इतिहास पनि पुरानो छ । भारतको उत्तर पूर्वी क्षेत्रमा नागवंशी र नाग जाती र दसनामी सम्प्रदायका मानिसहरू बस्छन् । भारतको नाथ सम्प्रदाय पनि दशनामी सम्प्रदायसँग सम्बन्धित छ । शैव पथबाट धेरैजसो सन्यासी तथा साधुको उत्पत्ति भएको मानिन्छ । नागा शब्दको उत्पत्तिका बारेमा केही विद्धानको यस्तो मान्यता छ की नाङ्गा शब्द संस्कृत शब्दबाट आएको हो जसको अर्थ “पहाड” हुन्छ र यहाँ बस्ने मान्छेलाई “पहाडी” अर्थात् “नागा” भनिन्छ । कच्छारी भाषामा नाङ्गा भनेको “एक बहादुर लडाकु व्यक्ति” हो । नागाको अर्थ नग्न रहनेलाई पनि बुझिन्छ । उत्तर पूर्वी भारतमा बस्ने मान्छेलाई पनि नागा भनिन्छ । नागाको इतिहास सनातनका आदि गुरु शंकाराचार्यसँग सम्बन्धित छ । ८ औ शताब्दीको मध्यतिर उनको जन्म भएको थियो त्यति बेला भारतीय जनताको स्थिति खराब थियो ।

आक्रमणकारीहरू सल बलाएका थिए । आर्थिक सामाजिक स्थिति खराब थियो । यस चुनौतीलाई आध्यात्मिक शक्तिले मात्र सामना गर्न पर्याप्त थिएन । त्यस कारण उनले देशको चार कुनामा धार्मिक पीठ खडा गरेर युवा साधुलाई व्यायाम गरी शक्तिशाली बनाए भने हतियार चलाउन पनि माहिर बनाए । ती पीठहरू साधुको अभ्यास गर्ने केन्द्र बने । कालान्तरमा कैयौँ यस्ता अभ्यास गर्ने अखडा बने । धार्मिक स्थल ,श्रद्धालु भक्तजनको रक्षामा आँच आउन थाल्यो भने ती साधुको प्रयोग गर्नु भनेर शंकराचार्यले अखडामा सुझाव दिए । केयौपटक विदेशी राजा महाराजाको आक्रमणमा नाङ्गा बाबाहरूको सहयोग लिइएको थियो । धार्मिक स्थल गोकुलको रक्षा पनि नागा बाबाले नै गरेको भनिएको छ । उसो भए नागा बाबा बन्न के गर्नुपर्ला त भन्ने लाग्न सक्छ कैयौलाई । नागा बाबा बन्न सहज छैन । कठिन प्रक्रिया पार गर्न कैयौँ वर्ष लाग्न सक्छ ।

कोही नागा बन्न चाहन्छ र धार्मिक अखडामा जान्छन् भने उसको पारिवारिक पृष्ठभूमि बुझिन्छ र किन उ नागा बाबा बन्दैछ भन्ने पनि जानकारी लिइन्छ । यदि उसको उत्तर अखडालाइ चित्त बुझेको बखतमा मात्र उसले नागा साधुको लागि अखडामा प्रवेश पाउँछ । यसमा ६ महिना देखि लिएर १२ वर्षसम्म पनि लाग्न सक्छ । सँसारिक माया मोहबाट निक्लन सक्ने मानिस मात्र नाङ्गा बाबा बन्न सक्छ ।