अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४३ | Colorodo: 06:58

गीता खत्रीको अन्त्यहीन इच्छामाथि एक दृष्टि

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७५ फागुन १९ गते ९:५५ मा प्रकाशित

विगत लामो समयदेखि अमेरिकाको न्यु योर्क सहरलाई आफ्नो कार्य थलो बनाई बसोबास गर्ने गीता खत्रीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका च्याप्टरदेखि केन्द्रसम्मका विभिन्न पदहरूमा रहेर त्यहाँका नेपालीहरूका बिचमा छुट्टै पहिचान बनाएकी छन् । अनेसास न्यु योर्क च्याप्टरको अध्यक्ष (सन् २००५–२००९), अनेसास केन्द्रीय कार्य समितिको महासचिव (सन् २०१०–२०१२) हुँदै अनेसासको केन्द्रीय अध्यक्ष (सन् २०१२–२०१४) समेत भइसकेकी खत्री हाल अनेसास बोर्ड अफ ट्रस्टीकोको अध्यक्षका रूपमा कार्यरत छिन् । मूलतः अनेसासका माध्यमबाट सामाजिक र साहित्यिक व्यक्तित्व निर्माण गरेकी गीता खत्रीको संलग्नता अरू विभिन्न सङ्घसंस्थासँग पनि रहेको देखिन्छ । आफ्नो सक्रियतामा विभिन्न ठाउँका अनेक व्यक्तिहरूलाई सम्मानित र पुरस्कृत गरेकी गीता खत्री आफू पनि अनेक ठाउँमा सम्मानित र पुरस्कृत भएकी छन् । 

विगत दशकदेखि नेपाली साहित्यका विभिन्न विधाका कृति रचनामा सक्रिय रहेकी गीता खत्रीका हालसम्म सिर्जना यात्रामा गीता (२०६१, कविता सङ्ग्रह), सम्झनाको तरेली (सन् २०१०, गीत सङ्ग्रह), सपनाको धरहरा (२०६८, कविता सङ्ग्रह) आमा हुन् आमा (२०७१, खण्डकाव्य), झोखाङदेखि मजाटलानसम्म (२०७१, नियात्रा सङ्ग्रह) जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् । यिनको पुस्तककार कृतिका रूपमा छैटौँ तथा कथा कृतिका रूपमा पहिलो कथा सङ्ग्रह अन्त्यहीन इच्छा प्रकाशन हुन लागेकोमा मलाई ज्यादै खुसी लागेको छ । यस कथा सङ्ग्रहका लागि म कथाकार गीता खत्रीलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।

गीता खत्रीको अन्त्यहीन इच्छा शीर्षक कथा सङ्ग्रह विविध विषयवस्तुमा आधारित सत्र वटा कथाहरूको सँगालो हो । अन्त्यहीन इच्छा शीर्षक कथाबाट सुरु गरी अन्तिम बिदाइ शीर्षक कथाबाट अन्त्य गरिएको यस कथा सङ्ग्रहमा सङ्गृहीत केही कथा यस पूर्व विभिन्न अनलाइनहरूमा प्रकाशित भएको देखिए पनि धेरैजसो कथाहरू सर्वप्रथम यसै सङ्ग्रहमा सङ्कलित भएका हुन् । यसमा सङ्कलित गीता खत्रीका कथाको विषयवस्तुमा विविधता पाइए पनि सबैजसो कथाहरू एक्कासि प्रारम्भ भई विस्तार हुँदै समापन गरिएका छन् । कतिपय कथाको समापनमा पाठकको कुतूहलता बाँकी रहन्छ भने कतिपयमा समाप्त हुन्छ । कथानकलाई उति विस्तार नगरी कथाको ढाँचा प्रदान गरिएका यिनका सबैजसो कथाको कथानक गुजुल्टिएको नभई एकल विषयवस्तुमा आधारित देखिन्छ ।

गीता खत्रीको यस सङ्ग्रहमा सङ्कलित कथाको विषयवस्तु जन्मभूमि र कर्मभूमि दुवैतरर्फ विस्तारित छ । यिनका विभिन्न कथामा मानवीय प्रेम प्रणयको प्रस्तुति पाइन्छ । प्रेम दिवस, कहिल्यै नबिर्सने स्पर्श, आत्मीय प्रेम, अन्तिम बिदाइ, मीठो मुस्कान मानवीय प्रेमप्रणयमा आधारित कथा हुन् । यिनका कथामा प्रस्तुत मानवीय प्रेम प्रणय र यौनजन्य क्रियाकलाप विशेषतः भावुकतामा आधारित देखिन्छ ।

बाबुको मुख हेर्ने जस्ता कतिपय कथामा ग्रामीण र सहरिया परिवेशको चित्रण गर्दै विदेश जान पाउँदा खुसी हुने नेपाली मानसिकताको वर्णनकासाथ विदेशमा ज्ञान आर्जन गरेर स्वदेश फर्किएको प्रसङ्गबाट राष्ट्रप्रेमको सुन्दर नमुना प्रस्तुत गरिएको छ । विदेशमा बस्ने नेपालीहरूको आधा मन नेपाल, नेपाली परम्परा, संस्कृति र धर्मतिर छ भने आधा मन अमेरिकी समाज, वातावरण र ऐश्वर्यतिर छ भन्दै आप्रवासीय भावनाको स्वाभाविक प्रस्तुति यस्तो पनि विवाह कथामा पाइन्छ । सपनामा बर्बराइरहने छोरी कथामा बाल सुलभ क्रियाकलापका माध्यमबाट आप्रवासी चेतना र राष्ट्रप्रेमको अभिव्यक्ति गरिएको छ ।

पूर्वेली र पश्चिमेली सामाजिक परम्परा र संस्कृतिको चित्रण गर्दै समलिङ्गी विवाहलाई पूर्वेली समाजमा उपयुक्त नठानिए पनि पश्चिमेली समाजमा सामान्य रहेको वर्णन यस्तो पनि विवाह कथामा गरिएको छ । विजय जस्ता केही कथामा विवाह र सम्बन्ध विच्छेदका सन्दर्भ केलाउँदै नेपाली र विदेशी संस्कारगत भिन्नताले पनि त्यसमा प्रभाव पारेको देखाइएको छ । मोतीको माला जस्ता केही कथामा प्राकृतिक सौन्दर्यको चित्रणका साथ विदेशी सहभागीका माध्यमबाट नेपाली संस्कृतिको प्रशंसा गराउँदै विदेशीहरूले नेपालीप्रति देखाएको सद्भावलाई प्रस्तुत गरिएको छ ।

गीता खत्रीका कथामा कतिपय घटनाहरू संयोगवश घटित भएका छन् । यिनले आध्यात्मिकता र भौतिकताको मिलन पनि संयोगवश नै भएको देखाएकी छन् । यसको उदाहरणका रूपमा संयोग शीर्षक कथालाई लिन सकिन्छ । यसमा भाग्यवादी दृष्टिकोण र भौतिकवादी दृष्टिकोणको सम्मेलन देखाइएको छ । पुनर्जन्म कथा स्वैरकल्पनात्मक पाराले पूर्वजन्मको स्मृतिमा आधारित कथा हो भने रातो कोट चरम भावुकतामा आधारित कथा हो ।

गीता खत्रीका कथामा पुरुषको व्यभिचारी क्रियाकलाप मात्र होइन नारीका व्यभिचारी गतिविधिको पनि चित्रण पाइन्छ । नारी शोषण शीर्षक कथामा यौनतुष्टिका लागि भालेले पोथीप्रति गरेको व्यवहार चित्रण गर्दै परेवाको जोडीका माध्यमबाट नेपाली र विदेशी समाजका बिचमा रहेको यौनजन्य क्रियाकलापको भिन्नता र पुरुषको व्यभिचारीपनलाई आक्रोशपूर्ण ढङ्गमा प्रस्तुत गरिएको छ । उपहार शीर्षक कथामा पुरुष आदर्श वृत्ति र नारीका नीचवृत्तिको चित्रण, आत्मीय प्रेम शीर्षक कथामा नारी दुश्चरित्रकै चित्रण अनि चिसा रातहरू शीर्षक कथामा नारी भावुकता र व्यभिचारीपनको चित्रण पाइन्छ ।

पुस्तककै शीर्षकका रूपमा रहेको अन्त्यहीन इच्छा कथामा प्रकृतिको सिर्जनालाई नै परिवर्तन गर्न सक्ने विज्ञानको अद्भुत चमत्कारको चित्रण गरिएको छ ।

यसरी हेर्दा गीता खत्रीको यस सङ्ग्रहमा सङ्कलित कथा मानवीय प्रेम प्रणय, राष्ट्रप्रेम, आप्रवासी चेतना, भावुकता, स्वैरकल्पना आदि विषयवस्तुमा आधारित छन् । अमेरिकी जीवन भोगाइका सकस र पीडाको चित्रण गर्दै स्वदेशको सम्झना गरिएका यिनका कथामा अमेरिका र नेपालका विभिन्न सन्दर्भ जोडेर पूर्वीय र पश्चिमी संस्कृतिका बिचमा देखा परेका संस्कृति र संस्कारजन्य भिन्नतालाई पनि प्रस्तुत गरिएको छ । यिनका केही कथामा यौन मनोविज्ञान र समाज मनोविज्ञानको संयोजन गरिएको भए पनि कतिपयमा यौनजन्य विकृतिको चित्रण पनि गरिएको छ । यिनका कतिपय कथामा वर्णित घटना सन्दर्भ अविश्वसनीयजस्ता लागे पनि तिनलाई वैज्ञानिक चमत्कारसँग जोडेर प्रस्तुत गरी विश्वसनीय तुल्याउने प्रयत्न गरिएको छ ।
गीता खत्रीको यस सङ्ग्रहका कथामा न्यून सहभागीको प्रयोग पाइन्छ । यिनका केही कथामा नेपालका र केहीमा नेपालबाट अमेरिका पुगेका नेपाली अनि केहीमा विदेशी सहभागीको प्रयोग गरिएको छ । यिनका अधिकांश कथामा प्रयुक्त सहभागीले कथानकलाई अगि बढाउने काम मात्र गरेको हुँदा यिनले कथामा सहभागीको चरित्र चित्रण गर्नुभन्दा घटना प्रस्तुतिमै ध्यान केन्द्रित गरेको देखिन्छ ।

गीता खत्रीको यस सङ्ग्रहमा सङ्कलित कथाको परिवेशअन्तर्गत आउने स्थान मूलतः नेपाल र अमेरिका रहेका छन् । कथामा स्थानको सङ्केत मात्र नगरिएर स्पष्ट उल्लेख गरिएको छ । यसमा सङ्कलित सबै कथामा समयको स्पष्ट उल्लेख नभए पनि त्यसमा वर्णित घटना प्रसङ्गले कथाको समय वर्तमान दशक रहेको देखिन्छ । यस सङ्ग्रहका कथाको वातावरण कतै सुखद र सकारात्मक अनि कतै दुखद र नकारात्मक अर्थात् जीवनका उज्याला र अँध्यारा दुवै पाटाको चित्रणमा आधारित छ ।

गीता खत्रीका केही कथा बढी भावुकता एवं स्वैरकल्पनात्मक घटना प्रसङ्गका कारण अविश्वसनीयजस्ता लागे पनि धेरैजसो कथाको उद्देश्य वर्तमान युगीन जनजीवनका विविध सन्दर्भका यथार्थको प्रकटीकरण नै रहेको देखिन्छ । अधिकांशतः तृतीय पुरुष दृष्टिबिन्दुमा आधारित यस कथा सङ्ग्रहमा सङ्कलित कथामा युगीन विविध सन्दर्भसँग गाँसिएका विचारको अभिव्यक्ति पाइए पनि त्यो राजनीति निरपेक्ष रहेको छ ।

भाषाशैलीय विन्यासका दृष्टिले हेर्दा यस सङ्ग्रहमा सङ्कलित कथामा अत्यन्त सरल भाषा तथा वर्णनात्मक, संवादात्मकका साथै ठाउँ ठाउँ पत्रात्मक शैलीको प्रयोग पाइन्छ । भाषिक सरलताका कारण यिनका कथा जुनसुकै तहका पाठकका लागि पनि सुबोध खालका छन् । प्रायः शुद्ध भाषामा लेखिएका यिनका कथा सहज पठनीय छन् । पहिलो कथा सङ्ग्रह भएर पनि यत्तिको हुनुलाई मैले आगामी कथा सङ्ग्रह अझ स्तरीय हुने सङ्केतकका रूपमा लिएको छु ।

अन्त्यमा, गीता खत्रीको सिर्जनाले अविश्रान्त निरन्तरता पाओस् र अझ परिष्कृत, परिमार्जित एवं स्तरीय कृतिको सिर्जना भइरहोस् भन्ने मेरो हार्दिक शुभेच्छा छ ।