अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१४ | Colorodo: 06:29

हेलिकप्टर दुर्घटनाका मृतकलाई राष्ट्रपति, प्रधानमन्त्री लगायत सर्वसाधारणले श्रद्धाञ्जली दिए, ओलीले ओढाए राष्टिय झन्डा

बिआरटीनेपाल २०७५ फागुन १६ गते २२:१५ मा प्रकाशित

काठमाडौँ, हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरलाई काठमाडौँको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगेका थिए । यो समाचार दैनिक नेपालमा प्रकाशित छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्टपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, विभिन्न दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणहरूले टुँडिखेल पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । टुँडिखेलमा पुगेका सबै शोकमा त थिए नै आफन्तजनको रोदनले वातावरण थप भावुक बनाएको थियो ।

दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झन्डा ओढाएका थिए । राष्ट्रिय झन्डा ओढाइसकेपछि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीको झन्डा ओढाएका थिए । बिहीबार सबहरूको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । हिजै दिवङ्गतलाई अन्तिम श्रद्धाञ्जली दिने भनिए पनि पोस्टमार्टममा भएको ढिलाइले आज गरिएको हो । 

बुधवार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा उदयीमान नेता अधिकारी, पर्यटन क्षेत्रका अगुवा आङ छिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुव भोछिभया, प्रधानमन्त्री ओलीका निजी सचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको निधन भएको थियो ।

अधिकारीसहित सात जनाको निधनमा सरकारले बिहीबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदासमेत दिएको थियो । टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रमपछि शव आफन्तको जिम्मा लगाइनेछ । मन्त्री अधिकारीको शव आजै गृह नगर पोखरा लगेर अन्तिक संस्कार गरिने परिवारले जनाएको छ । 

तस्बिर: रासस, अन्नपूर्ण पोस्ट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू