अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५० | Colorodo: 10:05

राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ –डा. बाबुराम भट्टराई

बिआरटीनेपाल २०७५ फागुन १४ गते ८:२५ मा प्रकाशित

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताउनुभएको छ । पार्टीको जनसंवाद यात्राका क्रममा मंगलबार डडेल्धुरा सदरमुकाममा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै डाक्टर भट्टराईले विकास र समृद्धिको बाटोमा देशलाई अगाडि बढाउनका लागि राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनु पर्ने बताउनुभएको हो ।

कांग्रेस, तत्कालीन एमाले, एमाओवादीले त्याग र बलिदान गरेर संघीय लोकातान्त्रिक गणतन्त्र ल्याएको उल्लेख गर्दै भट्टराईले नेताहरूले विगत बिर्सेर भ्रष्टाचारमा लिप्त भइरहेको आरोप लगाउनुभयो । वाइडबडी, बुढीगण्डकी, एनसेल, ३३ किलो सुन प्रकरणमा हाकाहाकी रुपमा भ्रष्टाचार भएको उहाको भनाई थियो । जनताले तिरेको करको पैसामा ठूलाठूला भष्टाचार हुने हो भने देश समृद्ध बन्न नसक्ने भट्टराईको ठहर थियो ।

मुलुकमा गरिबी, बेरोजगारीको समस्या बढ्दै गएको चर्चा गर्दै डा. भट्टराईले औषत प्रतिव्यक्ति आय १० हजार डलर पुर्याउन दुई दशकसम्म आर्थिक वृद्धिदर दुई अंकमा बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपालका पार्टीहरूको केन्द्रमुखी ढाँचा भएको उल्लेख गर्दै भट्टराइले सर्वसाधारण नेता कार्यकर्ता सम्मेलन वा महाधिवेशनमा ताली मात्रै पिट्ने प्रचलन रहेको बताउनुभयो ।

यात्राको भोलि समापन गरिँदै नयाँ शक्ति पार्टीले असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा जारी राखेको बताउँदै उहाँले यात्राका क्रममा मध्यपहाडी राजमार्गको निर्माण कार्यको अवलोकन, आसपासको जनजीवनको अध्ययन, समस्याको पहिचान र राष्ट्रिय जीवनका महत्वपूर्ण सवालमा सर्वसाधारणसँग संवाद गरिएको बताउनुभयो । उहाँका अनुसार माघ १५ गतेबाट सुरु भएको यात्रा फागुन १५ गते भोलि (बुधबार) बैतडीको झुलाघाट पुगी गोठलापानीमा समापन गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू