अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

ग्याष्ट्रिक, सम्मान र त्याग

विनोद रोका २०७५ फागुन १३ गते २३:३७ मा प्रकाशित

ग्याष्ट्रिक, सम्मान, र त्यागको ओदानबाट म कहिले बाहिर निस्कन सकिन । अनि त जहिले पनि यही ओदानमा म जली रहेको हुन्छु। खोटाङको एउटा सानो गाऊमा जन्मिएको म पहाडे ठिटोलाई ग्याष्ट्रिक भन्ने शब्द गाउँघर छाडेर सहर नपसेसम्म थाहा थिएन। उमेरसँगै सपनाहरू थपिन थाले। ती सपना पुरा गर्न तराईहुदै काठमाडौँमा आए । सपनाको संसारमा एउटा सुन्दर भविष्यको परिकल्पना गरे। अनि त्यो परिकल्पना पुरा गर्न ज्यान पालेर कुद्न थाले। रातको नीद हरायो । खाएको पच्न छाड्यो । तैपनि आफ्नो गतिलाई रोकिन । किनकि लक्ष्यहरू धेरै टाढा थिए। स्वास्थ्य विग्रदै गयो। अनि डाक्टर र बैद्यकहा धाए । कुनै दवाईले काम नगरेपछि मात्र पो बुझियो ग्याष्ट्र्कि भएछ भन्ने । अनि पछि बुझे यो रोग त नेपालीको राष्ट्र्यि रोगनै पो रहेछ। संयोगले केही मित्रहरू भेटिए। जसले यो ग्याष्ट्र्कि रोगको उपचार भनेको अपच हुने खाने बस्तु नखानु, भोकभन्दा कम खानु, चिन्ता नलिनु, प्रशस्त पानी पिउनु, योग र ध्यान गर्नु आदि।

मित्रहरूले भनेको कुराहरू सुन्दा त सामान्य नै थिए। अनुभव गर्दा पनि के थाहा भो भने केही खानेबस्तुहरु मेरो शरीरका लागि अनुकूल रहेनछन् । अर्थात् ती खानाहरूको मलाई एलर्जी हुँदो रहेछ । अनि ती खानाहरू खादा मलाई अपच हुने, शरीरमा गर्मी बढ्ने अनि निन्द्रा नलाग्ने रहेछ । यो निष्कर्ष मेरो शरीरको प्रयोगशालाले दिएको रिर्पोटले देखायो । त्यसैले केही दिन खानेकुराहरू त्यागे। केही सन्चो पनि भयो। तर केही सन्चो हुने बित्तिकै फेरी तीनै बस्तुहरू खान थाले। मनले थाम्न सकेन । अरूको बचन हार्न नसकेर भन्दै ती बस्तुहरू खाइयो। घरपरिवारका सदस्यले यो खानाले बिसाऊछ भन्दा पनि कहिले अरूको मन राख्न खाए भने। कहिले बिसाऊदैन भनेर चित्त बुझ्दो जवाफ दिए । शरीरको कण कणमा जम्मा भएको संस्कार अर्थात् नसाले मलाई विचलित बनायो। यो ग्याष्ट्र्कि भन्ने रोग अमेरिकाको न्युर्योकमा आएको करिब २१ वर्ष पुग्दा पनि छुटेको छैन। यसले मलाई प्राय सताऊ छ । किनकि मैले अझै पनि खान नहुने बस्तु पुर्णरुपले त्याग्न सकेको छैन ।

सम्मान पनि मेरा लागि ग्याष्ट्रिक जस्तै रहेछ । त्यो तथ्य मैले आध्यात्मिक गुरुबरहरुको सानिध्य, अध्ययन, र ध्यानको अभ्यासको यात्रामा अनुभव गरे। मैले कुनै ठुलो सम्मान त पाएको छैन । तर नसा भने लाग्दो रहेछ। आखिर खोएविर्के रक्सी होस वा ब्लाकलेवल दुवैले दिने त नसानै त हो। मैले पाएको सम्मानहरू जे पाए पनि ती मेरा लागि अपाच्य रहेछन् भन्ने महसुस भयो। किनकि यो सम्मान पाएपछि अलिकति आफू फुलेको महसुस गरे। सामान्य मान्छे अर्थात् समकालीन साथीभाइ भन्दा आफू अलिकति माथि भए जस्तो लाग्ने। कार्यक्रममा अगाडीको लाइनमा गएर बस्नु पर्छ भन्ने सोच आउने। आयोजकले आफ्नो नाम मञ्चबाट उच्चारण नर्गदा चित्त दुख्ने। पत्र पत्रिकामा आफ्नो नाम र फोटोसहितको समाचार आयो कि आएन ? भनेर सोधपुछ गर्ने । सेयर गर्ने । चिनेकालाई पढ्नु होला है भनेर अनुरोध गर्ने। अनि फेसबुकमा पोस्ट भएको फोटोमा कतिले लायक गरे । कस्तो कमेन्ट गरे भनी छिनाछिनमा मोबाइल हेर्ने आदि । यसरी सम्मान पाऊदा पनि मन भने बेचैन नै रह्यो । शान्ति र आनन्द हरायो । मानौँ मनको शान्त तलाउमा कसैले ढुङ्गा हान्यो अनि पानी छचल्कीयो । ओशोले भने झै तलाउमा हिरा वा ढुङ्गा जे फालेपनि त्यसैले दिने आखिर तरङ्ग नै त हो ।

सम्मान नपचे पछि मैले पनि अब यो सम्मान त्याग्छु भन्ने धारणा बनाए। यो धारणा मैले एनआरएन अमेरिकाको २०१४ र २०१५ का दुईवटा निर्वाचन अन्य साथीहरूको सहयोगले सम्पन्न गरेपछि बनाएको थिए। अर्थात् मनबाट सम्मानको त्याग गरेको थिए अपच भएपछि। यसै समयमा युएस नेपाल वनलाईनका प्रधान सम्पादक प्रदीप थापा परियारजीले आफ्नो पत्रिकाको वार्षिकोत्सव २०१६ मा एनआरएनको निर्वाचन निर्वाचन प्रमुखको रूपमा रही सफलतापूर्वक सम्पन्न गराएको हुँदा सम्मान गर्ने व्यक्तिको लिस्टमा मेरो नाम पनि रहेको हुँदा स्वीकृतिको लागि अनुरोध गर्नु भयो। मैले थापाजीलाई आफूले सम्मान परित्याग गर्ने निर्णय लिन खोजेको धारणा बताए। त्यसै गरी थापाजीलाई मैले निर्वाचन सफल भए पनि विवादरहित भने हुन नसकेको तथ्य पनि बताए। थापाजीले भन्नु भो हाम्रो सम्मानको पालो पछि मात्रै तपाईँको धारणालाई कार्यान्वयन गर्नुहोला नि। त्यसैले त्यो सम्मान मैले थापाजीको बचन हार्न नसकेपछि टार्न सकिन। त्यो सम्मान पछि म सार्वजनिक समाहरोगमा पातलो हुँदै गए। सम्मानको लालच पनि लाग्दैन। त्यसैले चित्त दुख्ने रोगबाट त्यति ग्रसित भएको छुईन। अनि कहिलेकाहीँ सोच्दछु साँच्चै म सम्मान त्याग्न सक्ने भएछु ।

तर जब मैले त्यागमा पनि अहम् देखे अनि लाग्यो अझै मेरो त्याग धरातलमा पुगेको रहेनछ। मैले यो कुराको अनुभव एउटा घटनाबाट गरे । एक जना पदाधिकारीले मलाई आफ्नो संस्थाको वार्षिक कार्यक्रममा गीतकारको रूपमा सम्मान गर्ने भनी सर्वसम्मत निर्णय भएको हुँदा तपाईँले सम्मान स्वीकार गरी दिनु होला भन्ने प्रस्ताव गर्नु भयो । अनि मैले ऊहालाई आफू त्यसको लागि योग्य व्यक्ति होइन । किनकि म वकिल मान्छे हु । अध्यात्म, साहित्य र सङ्गीत मेरो रुचिको विषय भएको हुँदा यिनमा रमाउने गर्छु । त्यसैले म भन्दा अरू असल स्रष्टालाई नै सम्मान गर्नुहोस् भने । यसो भन्दा पनि ऊहाले आफूहरूले चिनेको धेरै मध्ये तपाईँलाई नै छनौट गरेको हो । यसपालि हामीले केही नगद पनि राखेको छौ सम्मानका साथमा भने । मैले फेरी ऊहालाई भने बरु तपाईँले नचिनेका तर मैले चिनेको म भन्दा राम्रा गीतकारको नाम सम्मानका लागि सिफारिस गर्छु । अनि जवाफमा ऊहाले मलाई भरसक मैले नै लिनु पर्ने, नलिने भए मात्र अर्को राम्रो व्यक्तिको नाम दिनुहोला भने । मैले आफूले चाहिँ नलिने निर्णय गरे। अनि अरूको नाम सोच्न थाले । केही नामहरू पनि सोचे जो म भन्दा धेरै राम्रा गीतहरू लेख्नुहुन्छ । अनि ध्यानको कुनै अवस्थामा मनमा एउटा भाव आयो “मैले पाएको सम्मान पनि त्यागे भन्ने कुरा अरू कसलाई त थाहा हुनु परर्याे नि ?” त्यसैले मैले यो कुरा त कसैलाई भन्नै पर्ला? “ अनि मनले भन्यो फलानालाई भन्नु राम्रो होला । जो सँग म सप्ताहन्तमा सामूहिक ध्यानमा बस्ने गर्दछु । तर कसरी भन्ने त? ऊस्ले त पक्कै मलाई भन्ने छ तेरो त्यागको अहंपन गएको छैन । अनि मलाई आफूले सुनेको कुनै आध्यात्मिक कथा सुनाउला । अनि मैले ओशोबाट सुनेका बुद्धकालीन एउटा भिक्षुले गरेको त्यागको कथा स्मरण गरे । त्यसपछि मेरो मन रोक्कीयो आफ्नै सासमा गएर। मेरो स्मरणमा रहेको कथाको सारसं यस्तो थियो ।

धर भन्ने व्यक्ति भिक्षु भनेछ। धर र उसको भाइलाई उनीहरूका पिताजीले सय सय वटा सुनका सिक्काहरू दिँदै भनेका रहेछन् अब तिमीहरूले यी सिक्काहरू लिएर आ आफ्नो व्यवहार गर । धरले आफ्ना पिताजीबाट प्राप्त सुनका सिक्काहरू भाइलाई दियो । अनि घर छाडेर भिक्षु बन्यो । त्यसैले धर आफ्ना भिक्षु साथीहरूलाई प्राय आफूले घर त के सुनका सयौँ सिक्का पनि त्याग गरेको प्रसङ्ग जोड्दो रहेछ । बुद्धलाई पनि धरको त्यागको प्रसङ्ग जानकारी भएछ । अनि एक दिन भिक्षुहरूलाई बुद्धले भनेछन् त्याग्ने र भोग्नेमा फरक हुँदैन। किनकि त्याग्नेमा पनि त्यागको अहम् हुन्छ अनि भोग्नेमा पनि भोगको अहम् हुन्छ ।

यो कथाको स्मरण आएपछि मैले आफूलाई फेरी जाँचे । मेरो सम्मान त्यागको निर्णय कैयो जन्मदेखि मेरा शरीरको कणकणको स्पन्दनमा सञ्चित रहेका संस्कार, बानी, अतृप्त इच्छा, वा भनौ नसाको कारणले गर्दा बार्नुपर्ने खाना नबारेको कारणले गर्दा लागेको ग्याष्ट्रिक भन्दा कुनै फरक रहेनछ । यो प्रसङ्ग मैले जुन मित्रलाई भन्छु भनेको थिए ऊस्लाई अझसम्म भनेको छुईन। तर पनि मैले यस विषयमा यति लामो लेख लेखे । साँच्चै लागेको संस्कार वा बानी सुधार्न बुद्धिको तहमा मात्र थाहा पाएर पुग्ने रहेनछ । त्यसैले मैले आफ्नो सम्मान त्यागको अवस्था त्यो धरको भन्दा फरक पाइन । 

सम्बन्धित सामग्रीहरू