अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५१ | Colorodo: 06:06

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु, प्रधानमन्त्रीले गर्नुभयो उद्घाटन

बिआरटीनेपाल २०७५ फागुन १३ गते २३:२३ मा प्रकाशित

काठमाडौँ: नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव सोमबार सुरु भयो। सात दिन लामो महोत्सवको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भयो । 

काठमाडौँ अनामनगरस्थित मण्डला थिएटरमा आयोजित उद्घाटन समारोहमा प्रधानमन्त्रीले आगामी आर्थिक वर्षदेखि नाट्य विधा उत्थानकाका लागि बजेट छुट्ट्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रमले भन्नुभयो, ’नाट्य क्षेत्र विकासका लागि यो सरकारको तर्फबाट सहयोग हुनेछ। हामीले आन्तरिक तवरमा पनि केही विचार विमर्श सुरु गरिसकेका छौँ।’

उहाँले कला, साहित्य र संस्कृतिको विकास बिना देशको विकास हुन नसक्ने बताउँदै रङ्ग कर्म र कलाकारिताको निरन्तरताका लागि शुभकामना समेत व्यक्त गर्नु भयो । नाट्य महोत्सवका निर्देशक नाट्यकर्मी राजन खतिवडाले कार्यक्रम आयोजना एवं प्रोत्साहनका लागि प्रधानमन्त्री लगायत आर्थिक, भौतिक दाता एवं सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले नेपालमा नाटकको इतिहास लामो नभएपनि फराकिलो र गहकिलो भएको बताउनु भयो । भन्नुभयो,’हामी हाम्रै समाजको कथा भन्ने शैली निर्माण गर्न खोजिरहेका छौँ। जुन कुरा समाजबाट पर रहेर सम्भव छैन।’ उहाँले समाज समृद्धितिर लम्कन अर्थपूर्ण सोच निर्माण आवश्यक रहेको र त्यसैका लागि महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आशा व्यक्त गर्नुभयो।

कार्यक्रममा अर्थ मन्त्री युवराज खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोख्रेल, भौतिक पूर्वाधार एवं यातायात मन्त्री रघुवीर महासेठ लगायत मन्त्रीहरूको उपस्थिति रहेको थियो। त्यस्तै काठमाडौँ महानगरपालिका मेयर विद्या सुन्दर शाक्य, सांसद जुली महतो, पूर्व मेयर केशव स्थापित, पूर्व संस्कृति मन्त्री दीपकराज जोशी, काँग्रेस नेता गगन थापा लगायत अतिथि रहनु भएको थियो। 

जर्मन एम्बेसीका प्रतिनिधि एन्ड्री अर्सनल, जिआइजेडका नेपाल निर्देशक एल्क फर्सटर, जिआजेड सिभिल पिस सर्भिसका संयोजक वेरेना हिंज र अमेरिकन राजदूतावासका ट्रेड बार्उन पनि रहनु भएको थियो।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीसहित ९ जना नाट्य धरोहरहरूको सम्मान गरियो। निर्देशक प्रचण्ड मल्ल, शकुन्तला शर्मा गुरुङ, नाटककार एवं समालोचक अभि सुवेदी, नाट्य निर्देशक अशेष मल्ल, सबिन लेहमेन र कलाकारहरू सुभद्रा अधिकारी, सुनिल मिश्र सूर्य माला शर्मा सम्मानित हुनु भएको हो। समारोहमा परम्परागत एवं मौलिक झाँकीसँगै आधुनिक साङ्गीतिक प्रस्तुति रहेको थियो। अनुप बराल निर्देशित नाटक ‘रेप मेसिन’ मञ्चन समेत भएको थियो।

मङ्गलवारदेखि महोत्सवमा काठमाडौँका चार थिएटरहरूमा नियमित नाटक मञ्चन हुँदैछ। मण्डला थिएटर, शिल्पी थिएटर, कौसी थिएटर र थिएटर मलमा प्रस्तुति हुनेछन्। नेपाल, भारत, बङ्गलादेश, अफगानिस्तान, नर्वे, इटाली लगायत ८ देशका ३० फरक नाटक देखाइनेछ। नाटक मञ्चनसँगै विभिन्न विषयमा अन्तरक्रियात्माक कार्यक्रम र बहस छलफल हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू