अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

विधान उल्टाएको भन्दै कांग्रेस जिल्ला सभापति असन्तुष्ट

बिआरटीनेपाल २०७५ फागुन १३ गते ८:४३ मा प्रकाशित

महासमिति बैठकबाट पारित पार्टीको विधान केन्द्रीय समितिले उल्टाएको भन्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले आपत्ति जनाएका छन् । सोमबार उनीहरूले फेरि महासमिति बैठक बोलाउन माग गरेका छन् । काठमाडौंमा उपलब्ध १७ जिल्लाका जिल्ला सभापतिहरूको सोमबार काठमाडौंमा बसेको बैठकले महाधिवेशन पछिको सर्वोच्च निकाय महासमितिको निर्णय उल्टिएको भन्दै महासमिति बैठक बोलाएर निर्णय लिनुपर्ने निष्कर्ष निकालेको काभ्रे सभापति मधु आचार्यले जानकारी दिनुभयो ।

जिल्ला सभापतिहरूको बैठकले निर्णयलाई पुर्न्विचार गर्न केन्द्रीय समितिलाई आग्रह गरेको छ । साथै बैठकले महासमिति बैठक बोलाएर पहिले गरिएको निर्णय उल्ट्याएर देखाउन चुनौति दिएको छ । सभापति आचार्यले महासमितिबाट आउने निर्णय मान्न आफूहरू तयार रहेको बताउनुभयो ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले बहुमतबाट विधान पारित गरेको थियो। महासमिति बैठकमा जिल्ला सभापतिहरूले केन्द्रीय सदस्यहरू पनि तलैबाट निर्वाचित भएर आउनुपर्ने, समानुपातिकमा पनि पटकपटक अवसर दिन नहुने माग गरेका थिए। जिल्ला सभापतिहरूको मागमा सभापति शेरबहादुर देउवाले पनि प्रतिबद्धता जनाउनुभएको थियो । आफूहरूले उठाएको माग व्यक्तिगत नभई आम महासमिति सदस्यको भएको जिल्ला सभापतिहरूको भनाइ छ ।

महासमितिको बैठकबाट पारित निर्णय केन्द्रीय समितिले उल्टाएर महासमितिको स्थान, मर्यादा र गरिमालाई समाप्त पार्ने कसरत गरेको उनीहरूको आरोप छ । जिल्ला सभापतिहरूको मागमा असन्तुष्ट समूहका शीर्ष नेताको पनि साथ छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै एक दर्जन बढी केन्द्रीय सदस्यले हिजोको केन्द्रीय समितिको निर्णयमा आपत्ति जनाउँदै फरक मत राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू