अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

गृहमन्त्री थापाको १ बर्षे कार्यकाल– मुलुकको शान अभिवृद्धि भएको दावी

बिआरटीनेपाल २०७५ फागुन १३ गते ८:४० मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले एक वर्षको समीक्षा सार्वजनिक गर्नुभएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा थापाले मन्त्रालयमा रहेर गरेका कामको समीक्षा सार्वजनिक गर्नुभएको हो ।

सोमबार संचारमाध्यममा पठाइएको गृहमन्त्रीको एक वर्षका कामको समीक्षामा पहिलो वर्ष ’सिकाई, गृह प्रशासनको सुधार र विकासको दृष्टिकोणले आधार वर्षको रूपमा लिएको’ थापाले उल्लेख गर्नुभएको छ । गृहमन्त्री थापाले पहिलो वर्षमा नेपालको संविधान, कानुन र नेपाल सरकारको मार्गचित्रलाई व्यवस्थित तवरले कार्यान्वयनमा ल्याउन गृह प्रशासन सुधार कार्ययोजनाको कार्यान्वयन गरिएको उल्लेख गर्नुभएको छ ।

त्यसैगरी, भ्रष्टाचार प्रतिको शून्य सहनशीलताको नीतिलाई व्यवहारमा ल्याइएको गृहमन्त्रीले दावी गर्नुभएको छ । “प्रशासनमा विगतदेखि जरो गाडेको प्रशासनिक विकृतिहरूको उल्लेख्य मात्रामा न्यूनिकरण भएका छन्। संघियता कार्यान्वयनका क्रममा देखिएका कतिपय असामञ्जयस्यताहरूको निराकारण गर्दै सुरक्षा व्यवस्थामा कुनै किसिमको आँच आउन नदिने गरी व्यवस्थापन गरिएको छ’”, गृहमन्त्रीले लेख्नुभएको छ । गृहमन्त्रीले अगाडि लेख्नुभएको छ, “देश र नागरिकको सुख र समृद्धिमा धमिराको रूपमा रहेको राष्ट्रघाती एवं जनघाती तस्करी लगायतका संगठीत अपराध नियन्त्रणमा ठूलो सफलता हासिल भएको छ । राष्ट्रिय एकता र स्वभिमानको श्रीवृद्धि हुने गरी द्विपक्षीय र बहुपक्षीय साझेदारी गर्दै मुलुकको शान–मान अभिवृद्धि गरिएको छ ।”

शान्ति सुरक्षा, अपराध नियन्त्रण र सुशासनका क्षेत्रमा मुलुकले धेरै गर्न बाँकी रहेको दाबी गरेका गृहमन्त्रीले १६ पृष्ठको एकवर्षे समीक्षा सार्वजनिक गरेका छन्। गृहमन्त्री थापाले सार्वजनिक गरेको प्रतिवेदनमा पहिलो वर्ष गरिएका राम्रा कामको फेहरिस्त छ । जसमा कंचनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका अभिभावकलाई क्षतिपूर्ति दिएको देखि सुन तस्करीको संजाल ध्वस्त पार्न सफलता मिलेको गृहमन्त्रीले उल्लेख गर्नुभएको छ । गृहमन्त्रीले १० उपलब्धीको सूची पनि सार्वजनिक गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू