अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

गणतन्त्र, संघीयता र धर्म निरपेक्षताले मुलुकको हित हुँदैन – राप्रपा

बिआरटीनेपाल २०७५ फागुन १३ गते ८:२५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रले मुलुकको हित हुने नदेखिएको दाबी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको अभ्यासले मुलुकको हित हुने नदिएको उल्लेख गर्दै आफ्नो पार्टीले मुलुकको ‘अवस्था र व्यवस्था’ दुवैमा पुनर्विचार गर्न सरकारसँग माग गर्नुपरेको पनि स्पष्ट पार्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुलुकमा माओवादी विद्रोह नयाँ रूपमा जन्मने खतरा आएको, विखण्डनको आवाज पहिलो पटक मुखरित हुन लागेको भन्दै त्यसबाट मुलुकलाई जोगाउन पनि सबै राजनीतिक दलहरूले वर्तमान राजनीतिक व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने बेला आएको दाबी गर्नुभयो ।

थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्रको पुर्नस्थापना गर्नुपर्ने, राजसंस्थासहितको प्रजातन्त्रका लागि गोलमेच सम्मेलन गर्नुपर्ने लगायतका २२ बुँदे माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत फागुन ७ गते ज्ञापनपत्र बुझाएको थियो । अध्यक्ष थापाले सो माग फागुन महिनाभित्र पूरा नगरे चैतको पहिलो हप्ताबाट सरकारविरूद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो माग सम्बोधनका लागि जनमत सृजना गर्ने भन्दै यही फागुन १५ गतेदेखि देशभर ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ पनि सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू