अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१७ | Colorodo: 15:32

बैदेशिक लगानी भित्र्याउन काठमाडौँमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

बिआरटीनेपाल २०७५ फागुन १२ गते ९:०५ मा प्रकाशित

नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गरी वैदेशिक लगानी भित्र्याउने उद्देश्यले चैतको दोस्रो साता काठमाडौँमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ । आगामी चैत १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डवमा आयोजना हुने मेलाको तयारी शुरु गरिएको आयोजक नेपाल उद्योग वाणिज्य महासङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महासङ्घका अध्यक्ष भवानी राणाले मेलाले उत्पादनमूलक उद्योगको व्यापारलाई अन्तर्रा्ष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गरी आर्थिक समृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

हरेक वर्ष आयोजना हुँदै आएको मेलामा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, चीन, थाइल्याण्ड, बर्मा, कोरिया, जापानलगायत देशबाट प्रदर्शकहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो । यसपटक आठौँ संस्करणका रुपमा आयोजना हुन लागेको मेलामा ३ सय भन्दा बढी व्यापारिक कक्ष, स्टल,  रहने र अहिलेसम्म चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बङ्गलादेशबाट ४० स्टल बुक भइसकेको महासङ्घले जनाएको छ ।

नेपाल सरकारको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललिलतपुर उद्योग वाणिज्य सङ्घ र नेपाल हस्तकला महासङ्घको सहआयोजनामा सञ्चालन हुने मेलाको मुख्य आकर्षण हस्तकलाको उत्पादन र कृषिजन्य उत्पादनहरु रहनेछन् ।

नेपाली उत्पादनलाई अन्तर्रा्ष्ट्रिय खरीदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने र विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आकर्षित गराउन सहयोग पुर्याउने मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माणसम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै कक्ष रहने जनाइएको छ ।

महासङ्घका उपाध्यक्ष किशोरकुमार प्रधानले मेलालाई लगानी आकर्षण गराउने सेतुका रूपमा हेरिएको उल्लेख गर्नुभयो । महासङ्घको व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले मेलामा स्वदेशी र विदेशी गरी एक लाखले अवलोकन गर्ने अनुमान गरिएको जानकारी दिनुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक नवीन शर्माले मुलुकमा व्यापार घाटा भइरहेका बेला मेलाले व्यापार प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेलामा यस वर्ष करीब २० करोडको कारोवार हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा आयोजकले जनाएको छ ।

महासङ्घको नेतृत्वमा यस वर्ष मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरी करीब ४० वटा मेला आयोजना हुने जनाइएको छ । निकट भविष्यमा वीरगञ्ज, मकवानपुर, दैलेख, कञ्चनपुर र ललितपुरमा समेत मेला आयोजना हुने महासङ्घले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू