अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१२ | Colorodo: 10:27

नक्खु बम विस्फोटका मृतकलाई सरकारले राहत र घाइतेको उपचार खर्च व्यहोर्ने

बिआरटीनेपाल २०७५ फागुन ११ गते ८:२९ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले ललितपुरको नक्खुमा बम विस्फोटमा परी मृत्यु भएकाका परिवारलाई सरकारले राहत दिने र घाइतेको उपचार खर्च व्यहोर्ने बताउनु भएको छ । बम विस्फोटबाट घाइते भएकालाई भेट्न भैँसेपाटीस्थित मेडिसिटी अस्पताल पुग्नु भएका गृहमन्त्री थापाले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताउनु भएको हो ।

घटनामा संलग्न दोषीलाई कडा कारबाही गरिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । हिजो साँझ एनसेलको कार्यालयअगाडि बम विस्फोट हुँदा तीनजना घाइते भएका थिए । घाइतेमध्ये उपचारका क्रममा एकजनाको गएराति मृत्यु भएको थियो ।

यसैबीच, शृङ्खलाबद्ध आगजनी र बमविस्फोटमा संलग्न भएको आशंकामा प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १८ कार्यकर्तालाई पक्राउ गरेको छ । भैरहवा, रौतहट पोखरा, काभ्रे, बाग्लुङ र पूर्वी नवलपरासीमा रहेका केही एनसेल टावरमा गएराति आगजनी भएको थियो । नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले अहिलेसम्म १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू