अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५९ | Colorodo: 00:14

किन भयो हाम्रो देश नेपालको हाल बेहाल ?

रामप्रसाद खनाल

रामप्रसाद खनाल २०७५ फागुन १० गते २३:०७ मा प्रकाशित

* पञ्चायत काल राम्रो भएको भए २०४६ मा बहुदल किन आउँथ्यो र ?

* बहुदलमा बहुमत पाएको काँग्रेस मति भर्स्ट नभएको भए बहुमतको गिरिजा सरकार किन ढल्थ्यो र ?

* २०५१ को मध्यावधि चुनाव किन गर्नु पर्थ्यो र ?

* एमालेको तत्कालीन नौ महिने सरकारले केही राम्रो गर्दा गर्दै किन ढल्थ्यो र ?

* अनि मिलीजुली सरकारका नाम सांसद किनबेच किन गरिन्थ्यो र ??

* एमाले काँग्रेस मधेसी रा.प्र.पा सक्षम भएको भए देशमा माओवादी किन जन्मिन्थ्यो र ?

* कमल थापा देखी विभिन्न अवसरवादी नेता किन जन्मिन्थे र ?

* देश साँच्चै सबल र शान्ति सुरक्षा भएको देश भएको भए राजा रानी सहित राजपरिवार राजा दरबार भित्रै किन मारिन्थे र ?

* यदि बहुदल, दलहरू, नेताहरू सक्षम भएको भए २०५९ मा राजा ज्ञानेन्द्रले सत्ता हातमा किन लिनु पर्थ्यो र ?

* यदि राजाको शासनकालमा राम्रो भएको भए २०६२ / २०६३ को आन्दोलन किन हुन्थ्यो र ?

* दल र तिनका नेता राष्ट्रवादी, गुदी भएका भए दिल्लीमा गएर दिल्लीले १२ बुँदेमा हस्ताक्षर गराएर हरेक कुरामा “हुन्छ” गराएर एमाले काँग्रेस माओवादी मधेसी सबैलाई किन मिलाइदिन्थ्यो र ?

* राजा बुद्धि भएका भए किन एक्लै पर्थे र ?

* २३८ बर्से राजगद्दीको विरासत किन गुम्थ्यो र ?

* एमाले काँग्रेस माओवादी मधेसी रा.प्र.पा सक्षम भएको भए संविधान बनाउन करिब दश वर्ष किन लाग्थ्यो र ?

* एमाले काँग्रेस मधेसी रा.प्र.पा सक्षम भएको भए देशमा माओवादीका नाम मा प्रचण्ड बाबुरामको तान्डब कसरी जम्थ्यो र ?

* एमाले काँग्रेस मधेसी रा.प्र.पा सक्षम भएको भए देशमा प्रचण्ड ले कहिले यता कहिले उता गरी गरी अपराध बाट * बच्न र सधैँ पावरमा रहन कसरी सक्थे र ?

* नैतिकता, सिद्धान्त, आदर्श र देशका लागि गरिने राजनीति भएको भए कहिले काँग्रेस माओवादी गठबन्धन, कहिले एमाले माओवादी गठबन्धन, कहिले एमाले माओवादी एकीकरण किन हुन्थ्यो र ?

* काँग्रेस शेर बहादुरले कमजोर नपारेको भए काङ्रेसको यो हबिगत कसरी हुन्थ्यो र ?

* काँग्रेस कमजोर नभएको भए केपी ओली र अपराध सरदार प्रचण्डले दुई तिहाइ कसरी छुन्थे र ?

* अनि केपी ओली र प्रचन्डहरु सक्षम भएको भए दुई तिहाइको सरकारको यो हबिगत हुन्थ्यो र ?

* तपाईँ हामीलाई ओलीका बतासे उखान टुक्का सुनेर बस्नु पर्थ्यो र ?

* प्रचण्डले बारम्बार धम्क्याउँदै बस्ने बाँच्ने अवस्था बन्थ्यो र ?

* देश यती बिघ्न तन्नाम हुन्थ्यो र ?

यी र यस्ता तिता यथार्थ लाई नियाल्नुस्, विगत सम्झिनुस् हरेक प्रश्नका उत्तर पाउनुहुने छ सहजै । नेपालको असफलता, अन्याय अत्याचार कुशासन र भ्रष्टाचारका पछाडि माथि उल्लिखित तथ्यहरू जोडिएर आउने छन् । समग्रमा राजा देखी दल, नेता हुँदै जनता सम्म हामी सबै दोषी छौँ देश को वर्तमान अवस्थाका लागि ।

दल र नेतालाई गाली मात्र गरेर हुँदैन हामी जनता पनि उत्तिकै दोषी छौँ । नेतालाई गाली गर्ने तर चुनावमा तिनै नेतालाई भोट हाल्ने हाम्रा हात हरू सिलौटोमा राखेर लोहोरोले थिचे पनि आक्ष्यम्म छन् यो तितो यथार्थ हो ।

देशको राजनीतिका केही पहलमान हेर्नुस् न !

दास ढुङ्गामा ज्यान गुमाएका मदन र आश्रितको नाम मा राजनीति गर्दा गर्दै विद्या भण्डारी दुई पटक राष्ट्रपति बन्नुभयो, दाशढुङ्गा हत्याकान्ड नै हो हाम्रो सरकार आए हामीले हत्यारालाई सार्वजनिक गर्छौँ जेल हाल्छौँ भन्ने एमाले कति पटक सरकार मा गयो हिसाब राख्नुभएको छ ? हत्याकान्ड नै हो भनेर प्रतिवेदन दिने उचाल्ने केपी ओली मन्त्री हुँदै दुई पटक प्रधानमन्त्री बन्नु भयो कि नाइ ??

आज विद्याजी राष्ट्रपति, केपी ओली प्रधानमन्त्री, साकार दुई तिहाइको छ । के ले रोक्यो दास ढुङ्गा हत्याकान्ड सार्वजनिक गर्न हत्यारालाई जेल हाल्न ?? छ वहाँहरूसँग यस प्रश्न को छ जबाफ ?

हिजो माओवादी हत्या हिंसाको विरोध गर्ने, हजारौँ एमाले नेता कार्यकर्ताको ज्यान लिने अङ्गभङ्ग गर्ने तिनै अपराधी लुटेरा माओवादीहरूसँग आज एकता गर्ने एमाले र यसका नेता तथा कार्यकर्ता हरू हो छातीमा हात राखेर उत्तर देऊ त के यही हो राजनीति ? यस्तै हुन्छ राजनीति ??

गिरिजा प्रसादले पनि देशका लागि के गरे ? सोच्नुस् । उनको निधन पछि काङ्रेसको बागडोर सम्हालेका शेर बहादुर जति नालायक नेपालमा को होला ? देख्नु भएको छैन नतिजा ?? कस्तो काँग्रेस कस्तो बनाए शेर बहादुरले ? आज काङ्रेसको असफलताले मुलुकले ओलीका उखान टुक्का मात्र सुनेर बस्नु पर्ने अवस्था आयो कि नाइ ??

कमल थापा नामका अर्का पत्रु पात्र जो पञ्चायत खाए, बहुदल खाए, राजा खाए, गणतन्त्रमा पनि भ्याए । आफू मन्त्री पाए कमल थापा लाई गणतन्त्र लोकतन्त्र सबै ठिक, धर्म निरप्रेक्षता पनि ठिक । सङ्घीयता त लागु गर्ने नै यिनी हुन । राजतन्त्र बिदाइ गर्दा फड्के किनाराको साक्षी बस्ने यिनी जब मन्त्री पद बाट खुस्किन्छन् तब यिनलाई राजा सहितको प्रजातन्त्र, हिन्दु राष्ट्र चाहिन्छ । सङ्घीयताको विरोध गर्नु पर्छ ।

मधेसी दल र तिनका नेता पनि एकातिर कमल थापा प्रब्रित्तीका छन् भने अर्कातिर दक्षिण बाट पुरै निर्देशित छन् भन्ने कुरामा अब पनि केही बुझ्न बाँकी छ र ? यिनीहरूलाई ढिलो चाँडो मधेस नेपाल बाट टुक्र्याउनुनै छ । मधेस लाई सके अलग राष्ट्र नसके भारतको अर्को एउटा प्रान्त बनाउन मधेसी नेताहरूको एकमत छ बाहिर जे सुकै देखिए पनि ।

समग्रमा भन्दा न त राजा फर्किन सजिलो छ न त अहिलेको यो लुट तन्त्र बनेको लोकतन्त्र गणतन्त्र र सङ्घीयता सहित को नेपाल सुध्रिने अवस्था छ । अदालतमा राजनीति, प्रहरी प्रशासन र सेनामा राजनीति, बेलागाम कर्मचारीतन्त्र, भ्रष्टहरूको सरकार, काण्डै काण्डको सरकार । दल र तिनका नेता तथा झोले कार्यकर्ता, जे भए पनि चुप्प बस्ने खोले र नबोले जनता, युवा शक्ति विदेश पलायन, धराशायी हुँदै गइरहेको अर्थतन्त्र, सीमा नाघ्दै गएको अन्याय अत्याचार भ्रष्टाचार, अवसरवादीहरूको लुट, अपराधीहरूलाई छुट यी सब कुरा हेर्दा लाग्छ – नेपालका दुर्दिनहरु अझ धेरै बाँकी छन् । हामी जनताले अझ धेरै दु:ख पाउन बाँकी छ ।

अराजक सत्ता पक्ष लाई ब्यालेन्स गर्न प्रमुख प्रतिपक्षको हात ठुलो हुन्छ तर यहाँ सत्ता पक्ष भित्र भित्रै र प्रतिपक्ष पनि भित्र भित्रै आ आफ्ना डम्फु बजाउँदै आफ्ना निहित स्वार्थ पूर्ति गर्न तल्लीन छन् ।

सधैँ नेतालाई मात्र गाली गर्ने, देश बर्बाद भयो भनेर भन्ने तर तिनै भ्रष्ट, नालायक, गन्हाएका नेताहरूलाई एक सय एकाउन्न किलो सम्मका माला खादा भिराएर चाकडी गर्ने, यिनकै पछि लाग्ने, यिनलाई भोट हाल्ने, यिनलाई ताली मार्ने तपाईँ हामी जनता सबैभन्दा ठुला अपराधी हौँ कि होइनौँ ?? यो पनि अब बहस गर्नु जरुरी छ । सबैको चेत खुल्नु जरुरी छ ।

हेर्नुस् त हामीले कस्ता कस्तालाई कसरी माला खादा भिराएका छौँ, कसरी चाकडी बजाएका छौँ अनि मातिन्नन् त नेताहरू ?? यी पवित्र फुल र खादाको के दोष ? दोष तपाईँ हाम्रै हो जसले यी निर्दोष फुललाई माला बनाएर र खादा नालायकहरूका घाँटीमा भिराइदिन्छौँ । अनि यस्तो पाप गर्ने तपाईँ हामी जनताले दु:ख नपाए कसले पाउँछ ? हामीले अझ धेरै दु:ख पाउन र देश बर्बाद भएको हेर्न बाँकी नै छ ।

काँग्रेस जस्तो अति कमजोर, दिसाहीन प्रतिपक्ष र ओली प्रचण्डको जस्तो अति दम्भीत नेकपा सरकार दुवै देशका लागि शुभ होइनन्, तर दुवै तिर दिउँसै रतन्धो लागेको छ कोही सत्य देख्दैनन् एका थरी उखान टुक्का मै मस्ता छन् ताली मारिरहेका छन् भने अर्का थरीलाई शेर बहादुरको पछि लाग्दा फुर्सद नै छैअन देश र जनताका बारे सोच्न ।

एउटा राजा फालेर हजार राजा पालेर बस्न तयार हामी जनता अब कर तिर्न नसकेर घरबार बेचेर कर तिर्नुपर्ने अवस्था तिर जाँदैछौं ।

त्यति मात्र हो र धर्म कर्म, नैतिकता, अनुशासन सब कुरा तिलान्जली दिँदै गएका हामी नेपालीहरू आफ्नो भाषा, साहित्य, कला, गीत सङ्गीत, संस्कृति भुलेर नाङ्गा नाच र छाडा संस्कृतिमा रम्न थालेका छौँ ।

भेनेजुयेला देशमा एक झोला पैसा लिएर जाने, एक छाक तरकारी ल्याउने दिन आए जस्तै नेपालको पनि मुद्रास्फितीको उतार चढाव आउने अवस्था तर्फ मुलुक अगाडि बढेको छ । उद्योगधन्दा, व्यापार, उत्पादनको अवस्था कहालीलाग्दो छ । सियो सम्मा नबन्ने हाम्रो देशमा नुन देखी सुन सम्म सबै आयातमा निर्भर छौँ हामी ।

प्राथमिकता केलाई दिने ? पछि को कुनै कुरा हेर्ने अनुमान गर्ने हामीलाई फुर्सद छैन बरु हामी रेल, पानी जहाज, चुला चुला ग्यास, हावा बाट बिजुली जस्ता कुरामा प्राथमिकता थोपरिरहेका छौँ । रेमिट्यान्सले पालिने मुलुक जहाँ हरेक दिन दुई हजार दक्ष युवा बिदेशिन्छन त्यहाँ सरकार जनशक्ति बेचेर गर्व गर्छ ।

अख्तियारकै आयुक्त घुस खाने, मन्त्री त्यस्तै, कर्मचारी त्यस्तै जता पनि लुट नै लुट देखेर होला एउटा गायकले लुट्न सके लुट कान्छा भनेर गीत गाउँउपर्ने दिन आएको । जता हेर्‍यो लुट नै लुट छ । जता हेर्‍यो त्यतै प्वाल देखिन्छ तर मस्त राम छन् जनता । देश गरिब र मान्छे धनी बन्ने क्रम बढ्दो छ । छाती पिटेर चिच्याउन मन लाग्छ देशको अवस्था देख्दा । तर कसैलाई फिकर छैन । जसलाई फिकर छ तिनको हात मा केही छैन ।

दलहरू, नेताहरू पुरै असफल भएका छन् सत्ता पक्ष होउन् या विपक्ष । सदाचारी नेता, कार्यकर्ता गुमनाम छन्, बेइमानहरू हाबी छन् जता पनि । देख्दा लाग्छ कसरी पो रोकिएला र देश असफल हुन बाट ।

अब जनता फेरी जुरुक्क उठेर यी माथि उल्लिखित कुराहरूको सुधारमा हाम नफाल्ने हो भने देश रहन्छ या रहँदैन भन्न गाह्रो छ ।

सारमा भन्नुपर्दा नेकपा, काङ्ग्रेस, रा.प्र.पा, मधेसी, सबै पार्टीहरूको नाम र नेता मात्र फरक, चरित्र र काम सबैको “लुट्न सके लुट” नै देखिन्छ । यो अवस्था देशका लागि अत्यन्त दु:खुद र खतराजनक छ । सबैलाई चेतना भया ।