अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

धनीराम -२

कपिल अधिकारी, ताइपे, ताइवान २०७५ फागुन १० गते २२:३८ मा प्रकाशित

भुँइको मान्छे
ठेलमठेल्ला गर्दै
लाइन बसे जस्तो पनि
काउन्टरमा “ढेवा” बुझाएर
पाएको टिकट देखाउँदै
उक्लन्छ धरहरा
लुसुलुसु परिक्रमाको लयमा |

अलिकति बल लाएर र आतुरिमा बढ्छ अगाडी
पहिलो बन्न घच्चाघच्ची
स्याँस्याँ सुंसुं गर्दै पुग्दछ टुप्पोमा
एक छिन सुस्ताए पछि
दायाँबायाँ मुन्टो बटारेपछी
देख्दछ
चाँदीको पहाड अन्नपूर्ण, गणेश
गोधुलिमा पहेँलो सुनका चांग
उ आफूलाई धन्य,
धनधान्य ठान्छ
स्वयम्भू कै नाकै अगाडी उभिएको भान
उ,
आफूलाई करुणामय नै रूपानंत्रित ठान्छ
“पूर्ण म” |

सडकतिर नजर बिछ्याउँछ
ओहो कति धेरै भुँइ मान्छेहरू
जाबो भुँइका मान्छेहरू
सलबलाइ रहेछन्
उ सुन्दैन आवाज
उ टुप्पोमा छ, उचाइमा छ
भुईँ मान्छे गाई रहेछन् कि नाची रहेछन्
कि उसकै जयजयकार गरी रहेछन्
आनन्दमय समय |

वर्लिनु पर्ला फेरी, उसलाई लाग्दैन
सोच्छ यो धरहरा उसकै लागि बनेको हो
चम्चा काँटा बजी रहेछन् |
नियति के थाहा
निमेष मै झनु पर्छ कि त्यही खुड्किलोबाट
मन नलागी ,नलागी
६ बजे बन्द लेखेको छ टिकटमा
हुन सक्छ खुर्मुरिएर एकै चोटि सिधै तल झर्नु पर्छ कि
एक्कासि चट्याङ, हावा हुरी चल्यो भने
मौसमको के भर
मन, मौसम बदलिन्छ छिटै
को कुन टुप्पोमा बसेको छ र जुनीभर
जुनै इतिहासमा
तर उ छ
मग्न, मुग्ध, बिन्दास |

अहिले सहरमा धरहरा छैन
तैपनि भुईँ मान्छेहरू, आफ्नै धरहरा चढी रहेछन्
टुप्पामा ठिङ्ग उभी रहेछन्
मद्, मादले नुहाएर |

स्वयम्भूका आँखा नियाली रहेछ
गराई रहेछ सचेत, अनित्यको
अचेत हामीलाई
टुप्पोको मान्छेलाई |

प्रतिक्रिया